News Category 2071/04/19

भारतीय प्रम मोदीद्वारा साढे तीन मिनेट नेपाली भाषामा संसदलाई सम्बोधन भारतद्वारा १० हजार करोड नेपाली रु“पैया सहयोग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ साउन । 
“नेपाल आउन पाएकोमा अत्यन्त हर्षित छु, धेरै धेरै वर्षअघि एक तिर्थायात्रीको रुपमा आएको थियो । यो भनाई की एक पटक तपाईले नेपालको भ्रमण गर्नु भयो भने यो जिवन परियन्त सम्बन्धमा बदलन्छु । प्रथमतह यो सुन्दर देशको साथीको रुपमा म फेरी फर्केर आएको छु । भारतको प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा बास्तवमा मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वितिक्कै गर्न चाहन्थे किनकी हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकता मध्ये हो । निमन्त्रण गर्नु भएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले १ सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु ।” यो वाक्यसँगै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले आइतबार नेपालको संसदमा नेपाली भाषाबाटै सम्बोधन सुरु गर्नुभएको हो । 
संसद्मा ४६ मिनेट लामो सम्बोधनका क्रममा सुरुमा साढे तीन मिनेट नेपाली भाषामै सम्बोधन गर्नुभएका प्रधामन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध अझ मजबुत पार्न भारत सरकार सक्दो सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । 
नेपालको दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुग्नु भएको भारतीय प्रधानमन्त्री मोदीले संसदलाई सम्बोधन गर्दै ऊर्जालगायत पूर्वाधार निर्माणका लागि आयात निर्यात बैंकमार्फत ‘कन्सेसनल लाइन अफ क्रेडिट’ अन्तर्गत नेपाल सरकारलाई १० हजार करोड नेपाली रुपैया सहयोग दिने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो । 
उहाँले भन्नुभयो,–“शस्त्र–अस्त्रको मार्ग त्यागी बुद्धले देखाउनुभएको शान्तिको बाटामा नेपाल अग्रसर भइरहेको पाउँदा मलाई मात्र होइन, सारा विश्वलाई गर्व महसुस भइरहेको छ, देशमा पूर्ण शान्ति कायम गर्दै निर्धारित समयमा समावेशी एवम् लोकतान्त्रिक संविधान जारी हुनेमा म विश्वस्त छु, त्यसनिम्ति भारतले हरसम्भव सहयोग उपलब्ध गराइरहनेछ ।”
नेपाललाई विश्वले नजिकबाट हेरिरहेको पटक पटक दोहो¥याउँदै उहाँले यहाँ जारी संविधान लेखनको कामलाई समयमै पूर्णता दिन राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“विश्वका विभिन्न कुनामा शस्त्रास्त्रको होडबाजीमा लागेकाहरुले समेत नेपालबाट शान्ति र सदाचारको पाठ सिक्न सकून्, यसतर्फ यहाँको नेतृत्व सफल होओस् ।”
नेपाल र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने अभिभारा नेपालकै भएको भन्दै उहाँले त्यसका भारतले यसो गर, उसो गर नभन्ने र नगर्ने स्पष्ट पार्नुभयो । “नेपाल सार्वभौम मुलुक हो, आफ्नो निर्णय गर्न स्वतन्त्र छ तर पनि यहाँ लेखिने लोकतान्त्रिक संविधानले सारा विश्वको ध्यान तानिरहेका सन्दर्भमा बढी मर्यादित बनाउनु जरुरी छ । ”
प्रधानमन्त्री मोदीले बिजुली बेचेर आर्थिक उन्नयनको मार्गमा सजिलै नेपाल अघि बढ्ने र नेपालले उत्पादन गर्ने बिजुली बजार मूल्यमा खरिद गर्न भारत आतुर रहेको बताउँदै विद्युत् उत्पादनमा भारतले नेपाललाई सधैँ साथ दिने वचनबद्धता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो–“नेपालीसँग काँधमा काँध मिलाएर विकास निर्माणका काममा सहकार्य गर्न भारत सदा तत्पर छ ।”
हाल नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार तत्पर रहेकामा जोड दिँदै उहाँले अन्तरदेशीय प्रसारण लाइनमार्फत सङ्कट समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नेपालले आफूसँग रहेको अपार जलस्रोतलाई समुचित उपयोग गर्न सके आगामी दश वर्षपछि भारतको ऊर्जा सङ्कटसमेत समाधान गर्छ भन्नुभयो ।  
सूचना प्रविधिको विकासबाट रोजगारी प्राप्तिको सहज माध्यम बन्न सक्ने भएकाले त्यस दिशामा पनि नेपालसँग मिलेर काम गर्ने आफ्नो मुलुकको चाहना रहेको सभासद्लाई सुनाउँदै भौतिक पूर्वाधार निर्माणमा सघाउन एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने घोषणा गर्नुभयो । 
उहाँले दक्ष जनशक्ति उत्पादनमा सघाउन शैक्षिक छात्रवृत्तिको सङ्ख्यामा वृद्धि गरिएको घोषणा गर्दै नेपालको सामाजिक, आर्थिकलगायत चौतर्फी विकासका लागि भारतको निरन्तर सहयोग रहने बताउनुभयो । दुई देशबीच जनस्तरमा सुदृढ बन्दै गएको घनिष्ठ सम्बन्धलाई अझ व्यापक बनाउन भारत र नेपालबीच दूरसञ्चार सेवालाई सहज एवम् सर्वसाधारणको पहुँचभित्र पु¥याउन आफ्नो देशका सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने उद्घोष गर्दै नेपाल सरकारलाई पनि त्यसनिम्ति आवश्यक निर्णय गर्न आग्रह गर्नुभयो ।  प्रधानमन्त्री मोदीको उक्त भनाइ भारतबाट नेपाल फोन गर्दा र यहाँबाट भारतमा कुराकानी गर्दा तिर्नुपर्ने उच्च महसुलप्रति परिलक्ष्यित थियो । 
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का सबै सदस्य मुलुक मिलेर यस क्षेत्रको गरिबी निमिट्यान्न पार्नुपर्नेमा जोड दिँदै भारतले सार्क स्याटलाइट स्थापना गरेर शिक्षा, स्वास्थ्य र सञ्चारमा योगदान गर्ने चाहना व्यक्त गर्नुभयो । नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि प्रणाली नै महत्वपूर्ण रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीले त्यसका लागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 
वीर नेपालीको साहसको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँले गोरखा सैनिकले भारतको सुरक्षा व्यवस्थामा गरिरहेको योगदानप्रति आभार प्रकट गर्नुभयो । सत्र वर्षमा आफू नेपाल भ्रमणमा आएको स्मरण गर्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र सार्क सम्मेलनमा आउँदा राजर्षि जनकको भूमि जनकपुर र  गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट