News Category 2080/06/09

हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ

दैनिक समाचारदाता

हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 

    सप्तरी प्रहरीले युवकको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 
    जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ९ स्थित सुन्दरी खोलामा भदौं २१ गते फेला परेको एक युवकको शवको अनुसन्धान गर्दै जाँदा सोही नगरपालिका वडा नं. ६ बस्ने पशुपति राम घटनामा संलग्न रहेको जनाएको छ । 
    प्रहरीले सुन्दरी खोलाको पुलदेखी करिब सय मिटर दक्षिण पट्टी साईडमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेकोमा अनुसन्धानको क्रममा उक्त मानिसको हुलियाकै आधारमा कंचनरुप नगरपालिका वडा नं. ७ बलुवा बस्ने २५ वर्षिय राहुल कुमार चौधरी रहेको जनाएको छ । 
    अनुसन्धानकै क्रममा सो दिन राहुलसँग पशुपतिसँगै रहेको खुल्न आएको भन्दै प्रहरीले उनलाई असोज ४ गते पक्राउ गरेको जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार  अनुसन्धानकै क्रममा पशुपतिले मृतकको घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी राहुललाई भारततर्फ लगि लागु औषध खरिद गरी घटनास्थलमा ल्याएर अत्याधिक मात्रामा सेवन गराई बेहोस बनाएर पुनः लागु औषध जवरजस्ती खुवाई हत्या गरेको तथा मृत्यु पश्चात् राहुलले लगाएको कपडा तथा साथमा रहेको मोबाईल र घडी लुटेर लगेका थिए । 
    पक्राउ परेका रामलाई मंगलबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस