News Category 2080/06/10

विद्यालयमा छड्के अनुगमन

दैनिक समाचारदाता

विद्यालयमा छड्के अनुगमन

दैनिक समाचारदाता
राजविराज, १० असोज । 

    सप्तरीका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने नगरेको भन्दै जनगुनासो आएपछि बुधबार विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ । 
    प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले सो छड्के अनुगमन सुरु गरेको हो । 
    पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको छ । 
    अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् । टोलीको नेतृत्वकर्ता प्रदेश सांसद साहले विद्यार्थी र विद्यालयको समस्या बुझ्नुका साथै सामुदायिक विद्यालयको अवस्था सुधारका लागि छड्के अनुगमन थालिएको जानकारी दिइन् । 
    अनुगमनका क्रममा विद्यालयहरुमा देखिएको दुरावस्था बारे चिन्ता व्यक्त गर्दै उनले विद्यार्थी उपस्थिति संख्या पनि घट्दै गएकोमा सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउनुका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।
    सोही अवसरमा विद्यार्थीहरुले शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनु पर्ने बाध्यता रहेको गुनासो पोखेका थिए । फर्सैठको आधारभुत विद्यालयमा १ सय ७९ जना विद्यार्थी छन् । तर सांसदसहित टोली अनुगमनमा जाँदा ७६ जना विद्यार्थी मात्रै उपस्थित थिए । अधिकांश विपन्न तथा दलित परिवारका विद्यार्थी पढ्ने उक्त विद्यालयमा नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले टोलीलाई सुनाएका थिए । 
    अनुगमनका क्रममा प्रधानाध्यापक रुद्रानन्द झाले साधन श्रोतले भ्याएसम्म विद्यालयमा आकर्षण गराउन तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता टोलीसमक्ष व्यक्त गरेका थिए । 
    टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले अनुगमनका क्रममा देखिएका त्रृटी सच्याउन दुबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिँदै अर्को पटक आउँदा ती सबै समस्याको समाधान गर्न सचेत गराएका थिए । 
    जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थालिएको टोलीले जनाएको छ । विद्यालय पुगेर सांसद साह नेतृत्वको टोलीले त्यहाका विद्यार्थी र शिक्षकसँग साक्षात्कार मात्र गरेनन् केही बेर विद्यार्थीलाई पढाउने काम समेत गरे । 
 

प्रतिकृया दिनुहोस