News Category 2071/09/21

फेला परेको बालबालिकाको शव पहिचान, आमा वेपत्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० पुस ।
सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा शनिबार फेला परेको तीन जना बालबालिकाको शवको पहिचान भएको छ । 
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षक उमेश लाम्छारले सप्तरीको तेरहौता गाविस ३ निवासी अशोक सदाको तीनै जना छोराछोरीहरुको शव रहेको जानकारी दिनुभएको छ । 
प्रहरी निरिक्षक लाम्छारका अनुसार अशोककी श्रीमती कुरी सदाले ६ वर्षीय छोरा संतोष, ३ वर्षीया छोरी संतोषी र ६ महिने छोरी छोटकीलाई लिएर शुक्रबार बैरवा गाविस ३ स्थित माईतीबाट आफ्नो घर तेरहौता फर्कने क्रममा शनिबार तीनै छोराछोरीको शव पोखरीमा फेला परेको जानकारी दिनुभयो । 
सो स्थानमा एक थान बिषादीको बोतल, चप्पल, साडी लगायत फेला परेको प्रहरीले जनाएको छ । तर, कुरी सदा हालसम्म वेपत्ता रहेको जानकारी दिदै प्रहरीले पति अशोक कामको सिलसिलामा काठमाण्डौमा रहेका जनाएको छ । 
यसैबीच प्रहरीले मृतकका तीन जना आफन्तलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । ती बालबालिकाको शव बुझ्न कोही नआएपछि पोष्टमार्टम पश्चात् राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा रहेको छ । यता वेपत्ता रहेकी कुरीको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट