News Category 2080/07/20

लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ

दैनिक समाचारदाता

लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।

    ३८ दिन अघि लागु औषधसहित पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरलाई पक्राउ गरेसँगै प्रहरीले थालेको अनुसन्धानका क्रममा सोही कार्यमा संलग्न रहेको आरोपमा स्वास्थ्य सहसंयोजकसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ४५ वर्षिय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका ५ का ३५ वर्षिय मो.जमामुद्धिन इराकी छन् । 
    बोदेबर्साइन नगरपालिका ५ निवासी स्वास्थ्य शाखाका सहसंयोजक साह र सोही वडा निवासी इराकी समेतको लागु औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीको भनाई छ । 
    यसअघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको थियो । 
    स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु.५५प.५४३९ नम्बरको मोटरसाईकलबाट स्थानिय शत्रुघन चौकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो । 
    प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागु औषध मुदामा म्याद थप गराइ ठाकुरलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दै जादा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक साह र अर्का स्थानीयवासी इराकीको समेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    पक्राउ परेका दुवै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिज्ला अदालतबाट म्याद थपी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस