News Category 2080/09/24

प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 

दैनिक समाचारदाता

प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 

नवीनकुमार गुप्ता
राजविराज, २४ पुस । 

    १८ महिना अघि राजविराज नगरपालिका अगाडी मधेश प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको शौचालय बन्द गरिएको छ । यसले प्रदेश सरकारको लगानी बालुवामा पानी भएको प्रमाणित भएको छ ।
    राजविराज नगरपालिका कार्यालय अगाडी विद्यालयको झ्याल थुनेर निर्माण गरिएको उक्त शौचालय संचालन नहुँदै बन्द गरिएको हो । 
    आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा मधेश प्रदेश सरकारको करिब २५ लाखको आर्थिक सहयोगबाट दुई वटा शौचालय निर्माण गरिएको थियो । एउटा नगरपालिका अगाडी रहेको रमेश नारायण दास आदर्श आधारभुत विद्या मन्दिरको झ्याल थुनेर र अर्को राजरंगशालाको पूर्वपट्टी । 
    हचुवाको तालमा तथा उचित स्थानको छनौट र दुर्गामी सोचको अभावमा निर्माण गरिएको उक्त दुबै शौचालय अझै औपचारिक रुपमा संचालन समेत हुन सकेको छैन् । संचालन नहुँदै दुबै शौचालय फोहर, दुर्घन्धित बन्दै गएको छ । 
    भगवती मन्दिर पोखरीको मुख्य प्रवेश द्वार छेउमा तथा आधारभुत विद्यालयको झ्याल थुनेर निर्माण गरिएको शौचालय भन्दा ५० मिटर उत्तरतर्फ पनि एउटा निजि विद्यालय छ । उक्त निजि विद्यालयका विद्यार्थीहरु विद्यालय जाँदा शौचालयबाट निस्किने दुर्गन्धले नाक, मुख थुनेर जाने गर्छन् भने सरकारी विद्यालयका विद्यार्थीहरु बाँकी रहेका झ्याल थुनेर पढ्न बाध्य छन् । 
    यस्तै रंगशालामा परिसरमा निर्माण गरिएको शौचालयको अवस्था पनि यस्तै छ । यी दुबै स्थानमा शौचालय दिर्घकालिन सोच बिनानै निर्माण गरिएको छ ।
    निर्माण गरिएको उक्त शौचालयहरुमा पानीको व्यवस्था समेत छैन् भने शौच गर्ने प्यानमा प्लास्टिकको बोतल, ढुंगा, इट लगायतका सामाग्रिले पुरिएको छ । यति मात्र नभएर प्यान माथि नै शौच गरिएको र शौचालय बाहिर दिसा, पिसाबगरि फोहर गरिएको छ । सोही स्थानमा बनाइएको सेफ्टी ट्यााङ्क नामको मात्र रहेको छ । शौचालयको ढोका समेत टुटफुट भएको छ । शौचालय फोहर फ्याल्ने स्थान बनेको छ ।
    शौचालय निर्माण र संचालन नहुँदै बन्द गरिएको बारे राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङसँग सम्पर्क गर्दा उनले यसबारे आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिए । “शौचालय कहिले निर्माण भएको, कसरी र कुन बजेटबाट कसले निर्माण गरेको बारे मलाई थाहा छैन् ।” उनले भने । 
    सहरको मुख्य चौकमा एउटा पनि सार्वजनिक शौचालयको व्यवस्था नगरेका कारण मानिसहरु जथाभावी खाली र पायक पर्ने ठाउँमा शौच र पिसाब गर्ने गरेका छन् । जसले गर्दा सहर दुर्गन्धित बन्दै गएको छ । 
    बि.स. २०७४ साल चैत १४ गते राजविराज नगरपालिका तथा सप्तरी जिल्लालाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिसकेको छ । यसरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला र नगरमा जताभावी फोहर र खुल्ला स्थानमा दिसा पिसाब गरिने देखिनुले सरकारी नीतिको अवहेल्ना र रकमको दुरुपयोग समेत भएको देखिन्छ ।
 

प्रतिकृया दिनुहोस