News Category 2080/11/13

देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 

दैनिक समाचारदाता

देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।

    सरकारले आइतबारदेखी देशै भरिका १५ वर्ष मुनीका बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । अभियान अन्तरगत सप्तरीमा एक लाख ८७ हजार भन्दा बढी बालबालिकालाई उक्त खोप दिईने लक्ष्य रहेको छ । 
    राजविराजस्थित श्री केशोवत्ती अनिरुद्ध माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच जिल्लाष्स् िखोप समन्वय समितिका अध्यक्ष शिव नारायण साह र प्रमुख जिल्ला अधिकारी किरण थापाले संयृुक्त रुपमा अभियानको ब्यानर बाचन गरेर उद्घाटन गरे । 
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापाले खोपले विभिन्न रोगबाट लड्न शक्ती प्रदान गर्नुका साथै समाजमा रहेका विभिन्नखाले विकृति विरुद्ध लड्ने क्षमता पनि प्रदान गर्ने भन्दै उनले सबै बालबालिकालाई निर्धक्क भई खोप लगाउन आग्रह गरे । 
    एक लाख ८७ हजार ८ सय ९२ जना बालबालिकालाई खोप दिने लक्ष्यका साथ सुरु भएको अभियान तीन चरणमा गरी चैत्त २ गते सम्म चल्ने छ । अभियान जिल्लाको सबै १८ वटै पालिकामा संचालन हुनेछ । यसका लागी जिल्लाभर ८ सय ८ खोप केन्द्र स्थापना गरिएको छ भने १ हजार ६ सय १६ स्वास्थ्यकर्मी तथा २ हजार ४ सय ३२ स्वयसेवक परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए । 
    उनका अनुसार पहिलो चरणमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिकामा फागुन १३ गतेदेखि फागुन १७ सम्म अभियान संचालन हुनेछ । दोश्रो चरणमा फागुन २० गते देखि फागुन २४ सम्म डाक्नेश्वरी नगरपालिका, बोदे बर्साईन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा अभियान चल्ने छ । यस्तै तेश्रो चरणमा जिल्लाको सुरुङा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा फागुन २७ गते देखी चैत २ सम्म अभियान चल्ने छ । 
    स्वास्थ्य संस्था तथा विद्यालयहरुमा खोप केन्द्र कायम गरी तालिम प्राप्त स्वास्यकर्मी मार्फत खोप लगाउने व्यवस्था मिलाइएको तथा ९ महिना देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरी तीन चरणमा अभियान चल्ने जिल्ला स्थास्थ्य कार्यालयका प्रमुख झाको भनाई छ । दादुरा रुबेला रोगबाट संक्रमित एक जना ब्यक्तीले १८ जना सम्मलाई संक्रमित बनाउन सक्ने भन्दै खोपको पुर्ण मात्रा लगाएर सबैलाई सुरक्षित बनाउने उद्देश्यले अभियान चलाइएको र यसमा सबैको साथ र सहयोग आवश्यक उनले बताए । 
    उद्घाटन समारोहमा विश्व स्वास्थ्य सगठन नेपालका प्रतिनिधी दिल बहादुर शाही, प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्य, जनस्वास्थ्य अधिकृत हिरेन्द्र प्रसाद साह, प्रधानाध्यापक योगेन्द्र यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य मनोज कुमार माझी लगायतको पनि उपस्थिती रहेको थियो । ं
    मधेश प्रदेशको ८ जिल्ला मध्ये सप्तरी, बारा, सिरहा, रौतहट र पर्सामा गत वर्ष दादुरा रुबेला रोग शुन्यमा झरेको देखिए पनि सर्लाही, महोत्तरी र धनुषमा भने फाटफुट रुपमा यो रोग देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ । 
    स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ । 
    खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ । उहाँले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्नो बालबालिकालाई खोप लगाउन भन्दै उहाँले खोपले ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।
    उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताए । 
    खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । खोप शाखाका प्रमुख डा गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।
    सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट