News Category 2078/04/15

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट ः डब्लुएचओ

दैनिक समाचारदाता

जेनेभा, १४ साउन (रासस÷एएनआई) ।
    विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । 
    यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा आठ प्रतिशत वृद्धि भएको अधिकारीले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।   
    संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यसम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
    पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाइ छ ।  
    त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाको सङ्ख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीले जनाएका छन् । 
    डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । 
    त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।  
    सङ्क्रमितको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।
    कतिपय देशमा कोरोनाभाइरसको चौथो चरणको महामारीसमेत शुरु भएको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट