News Category 2080/10/29

नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  

दैनिक समाचारदाता

नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 

    सप्तरीको चुरे क्षेत्रसँग जोडिएको विभिन्न नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका छन् । 
    सप्तरीको सुरुङ्गा नगरपालिका स्थित चहका, सिसुवारी र बलान लगायतका खोलाबाट अवैध रुपमा बालुवा, गिटीको उत्खनन् भइरहेको स्थानीयले गुनासो गरेका हुन् । 
    स्थानीयवासीका अनुसार अत्याधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
    सुरुङ्गा नगरपालिका भित्र पर्ने नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न चालु आव २०८०÷८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ मा ठेक्का पाएको छ । नगरपालिका सँग ठेक्का लिँदा गरिएको सम्झौतामा बलान खोलाबाट प्रतिदिन १ हजार ६ सय, चहका खोलाबाट ५ हजार २ सय ६० तथा शिशुवारी खोलाबाट २ हजार ७ सय घनफिट मात्र नदी जन्य पदार्थको उत्खनन गर्न पाइने उल्लेख छ । तर ठेकेदारले ट्याक्टर र ट्रकमार्फत तोकेको भन्दा दोब्बर घनफिट बालुवा गिटी झिकेर लैजाने गरेको स्थानीयको भनाइ छ ।
    यस्तै सम्झौतामा सूर्य उदयदेखि सूर्य अस्तसम्म मात्र बालुवा गिटी झिक्न पाइने र घाटगदी गरेपश्चात मात्र लिएर जानुपर्ने उल्लेख भएपनि सो प्रक्रिया पूरा नगरी रातिको समयमा समेत उत्खनन र ढुवानी हुने गरेको स्थानीयवासी शंकर चौधरीले बताए ।
    आफूहरू यसबारे ठेकेदार, नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराए पनि कुनै सुनवाई नभएको उनले सुनाए । यसरी नै खोला दोहन भइरहने हो भने वर्षायाममा बस्ती डुवान तथा अन्य बेला पानीको हाहाकारको जोखिम बढ्दै जाने र खेतीपातीमा समेत समस्या हुन थालेको उनको भनाइ छ ।
    केही वर्षअघिसम्म ढुङ्गा र बालुवाले भरिभराउ शिशुवारी, चहका र बलान खोलाको बगर अहिले रित्याइएको देखिन्छ । एकातिर मापदण्ड विपरीत उत्खनन अर्कोतिर खोला छेउमै बालुवा प्रशोधन केन्द्रको नाममा क्रसर उद्योग नै सञ्चालनमा ल्याएर ठेकेदार र व्यवसायीले चुरेको कमजोर धरातल उधिनेर कमजोर बनाउँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको भनाइ छ । 
    यस विषयमा सुरुङ्गा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीसँग जिज्ञासा राख्दा उनले मापदण्ड विपरीत उत्खनन भइरहेको बारे अनभिज्ञता प्रकट गर्दै गुनासो आइसकेपछि नियन्त्रणमा अब कडाईका साथ लाग्ने जनाए । ठेकेदार र क्रसर व्यवसायीले स्थानीय सरकारको मिलोमतोमा अवैध उत्खनन गरिरहेको स्थानीयको आरोपलाई अस्वीकार गर्दै उनले त्यस्तो कुनै मिलोमतो नरहेको दाबीका साथ सोको अनुगमन गरी कडाईका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
    स्थानीय सरकार र प्रहरीको आँखा छल्दै चुरेसँग जोडिएको खोलाहरूबाट मापदण्ड विपरीत जथाभावी ढुङ्गा, बोल्डर र गिटी उत्खनन र अत्याधिक दोहनले खोलाहरूको मुहान सुक्दै जानुको साथै प्राकृतिक सम्पदाको बिनासले वातावरण समेतमा नकारात्मक प्रभाव पर्ने भन्दै स्थानीयले अविलम्ब यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट