News Category 2080/11/01

मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 

दैनिक समाचारदाता

मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 

नवीनकुमार गुप्ता
राजविराज, १ फागुन । 

    राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई आजदेखी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको पत्र सार्वजनिक भएको छ । 
कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा माघ १९ गते बसेको कार्यपालिका सदस्यहरुको बैठकले सो निर्णय गरेको पत्र आज सार्वजनिक भएको हो । 
सार्वजनिक भएको पत्रमा कार्यबाहक प्रमुख परविनले माघ २२ गते हस्ताक्षर गरेको र आज फागुन १ गते आइटी शाखाले उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई बुझाएको राजविराज नगरपालिका श्रोतले जनाएको छ । 
सार्वजनिक भएको पत्रमा “कावा प्रमुखको अध्यक्षतमा कार्यपालिकाको सदस्यहरुको मिति २०८०÷१०÷१९ गते बसेको बैठकको निर्णय बमोजिम तपाईलाई फिर्ता पठाउने निर्णय भएको हुँदा मिति २०८०÷११÷०१ देखी लागु हुने गरि यस कार्यालयबाट तपाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।” उल्लेख गरिएको छ । 
पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र कर्मचारी प्रशासन शाखा राजविराज नगरपालिकालाई बोदार्थ समेत गरिएको छ । 
सो पत्र बारे प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको बताउँदै यस्तो निर्णय हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । “मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएको हो, मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफै जान्थे, तर जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिन् ।” उनले भने, “म यस बिरुद्ध न्यायका लागि अदालतसम्म जाने छु ।”
कार्यवाहक नगर प्रमुख परविन नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजिमा एक सातादेखी काठमाडौंमै रहेकी छिन् । उनी काठमाडौं जानु अघि नै बैठक बसी प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई फिर्ता पठाउने निर्णय गरि गोप्य रुपमा पत्र आइटी शाखालाई दिएको श्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट