News Category 2080/11/04

अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 

दैनिक समाचारदाता

अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 

    अनसनकारीसँग वार्ता र छलफल पश्चात् रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा विगत १ सय २६ दिनदेखि जारी अनिश्चितकालीन रिले अनसन शुक्रबार तोडिएको छ । 
    अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथासिघ्र सुरु गर्नुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएको पदहरु पूर्ति गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने लगायतका प्रमुख माग अघि सार्दै संघर्ष समितिको अगुवाइमा रिले अनसनलाई लामो समयदेखि निरन्तरता दिइँदै आएको थियो । 
    अनसनकारीको माग सम्बोधन गर्ने क्रममा सरकारले नौ दिनअघि मात्र प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.परशुराम मिश्रलाई नियुक्त गरेको थियो । अघिल्लो दिन मात्र पदभार ग्रहण गरेका डा. मिश्र अनशन स्थलमा पुगि अनसनकारीसँग वार्ता र छलफल गरी अनसन तोडाएका हुन् । 
    सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको उपस्थितमा डा. मिश्रबाट केही दिनभित्रै प्रतिष्ठान निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता आएपछि अनसन तोडिएको संघर्ष समितिका संयोजक रामकुमार दासले बताए । उनले प्रतिबद्धता अनुसारको काम अघि नबढे पुन आन्दोलनमा उत्रिने जानकारी समेत गराएका थिए । 
    प्रतिष्ठानका अध्यक्ष डा.मिश्रले प्रतिष्ठानको काम अब छिट्टै अघि बढ्ने बताए । भर्खर जिम्मेवारी सम्हालेको छु, उनले भने, “अब निर्माण कार्य सुरु गर्न लागि परेका छौं ।” 
    शिलान्यास भएको ३१ महिना बितिसक्दा पनि प्रतिष्ठानको काम हालसम्म अघि बढ्न नसकेको भन्दै स्थानीयबासीद्वारा गठित संघर्ष समितिको अगुवाईमा गत २६ असोजदेखि रिले अनसन थालिएको थियो ।
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सरकारको नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशको राजबिराजमा गणतन्त्रवादी नेता स्वर्गीय रामराजा प्रसाद सिंहको नाउँमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि २०७८ जेठ २१ गते मन्त्रिपरिषदको बैठकले राजविराज नगरपालिका १० बिरोलमा ६२ बिघा जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको थियो । जग्गाको टुङ्गो लागेपछि २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान भवन निर्माणको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर शिलान्यास गरेको ३१ महिना बितिसक्दा पनि निर्माण काम सुरु नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट