News Category 2078/04/11

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पायो 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ११ साउन । 
    जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ ।
    जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो ।
    ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेकोले आधिकारिकता पाएको हो । महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरे ।
    टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी पनि सोमबार आयोगमा उपस्थित भएका थिए । तरकस्, उनले उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बसे ।
    निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताएका थिए । 
    यता आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।
    २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।
    त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ भने सर्वोच्चले साउन १५ गते विपक्षीलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट