News Category 2075/11/16

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

दैनिक समाचारदाता

न्यूयोर्क, १६ फागुन (रासस÷एएफपी) ।
    अमेरिकी कम्पनीले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् । सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएको छ । यस वर्ष झण्डै २८ हजार ४७८ थान रोबोट बिक्री भएको मिसिगनस्थित एड्भान्सिङ अटोमेसन सङ्घले जनाएको छ । रोबोटको प्रयोग अन्य क्षेत्रमा पनि बढेको छ । खाद्यान्न र उपभोग्य बस्तुको आपूर्ति गर्ने कम्पनीको माग पनि अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशतले बढेको छ । सेमिकन्डक्टर र विद्युतीय प्लान्टमा रोबोटको माग अघिल्लो वर्षभन्दा ५० प्रतिशतले बढेको छ । धातु उत्पादक कम्पनीमा समेत रोबोटको माग १३ प्रतिशतले वृद्धि भएको छ । निकै कसिकसाउ रोजगार बजारमा कामदारको ज्याला वृद्धि भएसँगै कम्पनीमाथि आफ्नो उत्पादनमा रोबोटजस्ता स्वचालित प्रविधिको प्रयोग बढ्न थालेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा सञ्चालित अमेरिकी कम्पनीलाई स्वदेश फर्काउन अनुरोध गरेपनि धेरै अमेरिकी कम्पनीले महङ्गा अमेरिकी कामदार प्रयोग गर्नुको सट्टा निकै सस्तो पर्ने रोबोटको प्रयोग गर्न रुचाउन थालेका छन् ।
    एड्भान्सिङ अटोमेसनका उपाध्यक्ष बब डोयलले कार उत्पादन कारखाना र अरु ठूला उत्पादक कारखानामा रोबोटको प्रयोग अत्यधिकरुपमा बढेको बताउनुभयो । स–साना कारखाना र गोदाम घरसमेत स्वचालित विधिबाट चलाउन थालिएको उहाँले जानकारी दिनुभयो । तिनैमध्येको एक हो मेट्रो प्लास्टिक टेक्नोलोजिज इन्क । इन्डियाना राज्यको नोबल्सभिलको एक निजी व्यवसायमा १२५ जना कामदार छन् । यो कम्पनी सन् १९७० को दशकमा शुरु भएको थियो । गत वर्ष मार्च महिनामा यो कम्पनीले पहिलो रोबोट किन्यो । यो रोबोटले उत्पादित वस्तु गुणस्तर परीक्षणका लागि बोकेर ल्याउने गर्दछ । विगतमा यो काम फोर्कलिफ्टको मद्दतले कामदारले गर्नुपथ्र्यो । “हामीसँग पाँच हजार पाउन्डका तीन वटा फोर्कलिफ्ट थिए,” कम्पनीका अध्यक्ष केन हानले बताउनुभयो । “अहिले हामीले ती सबै हटायौँ । यो रोबोटलाई ४० हजार डलर लाग्यो र यो आधाभन्दा बढी नै सस्तो छ ।” गत वर्ष सवारी साधन निर्माता कम्पनीहरुमा रोबोटको माग अत्यधिक बढेको छ । आपूर्तिको अर्डर भएका रोबोटमध्ये झण्डै ६० प्रतिशत सवारी साधन निर्माता कम्पनीले लगेका थिए । “खाद्य उद्योगले पनि रोबोटको माग निकै बढाएका छन्,” कावासाकी रोबोटिक्स (युएसए) का बिक्री तथा बजार निर्देशक ड्यान ह्यास्लेले बताउनुभयो । उहाँले थप्नुभयो, “खाद्य तथा पेय उद्योगमा ठूलै संख्यामा कामदारको जरुरत पर्दछ, तर रोबोटलाई पनि यी क्षेत्रमा प्रयोग गर्न थालिएको छ ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट