News Category 2083/02/04

ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 

दैनिक समाचारदाता

ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    राजविराज नगरपालिकामा बीच सडकमै तरकारी हटिया, पार्किङ, फुटपाथ अतिक्रमित लगायतका कारणले नगर कुरुपतर्फ उन्मूख हुँदैछ । 
    यस बाहेक ट्राफिक व्यवस्थापन हुन नसक्दा आवागमनमा दैनिक कठिनाई समेत भइरहेको छ ।
    सडकमा जथाभावी सवारी पाकिङ्ग र फुटपाथमा साईनवोर्डदेखि पसलसम्म सञ्चालन गर्ने प्रवृत्तिले आवागमनमा कठिनाई हुनुका साथै नगरलाई कुरुप बनाएको हो ।
    राजविराजस्थित अदालत रोडमा जिल्ला अदालतदेखि राम मन्दिरसम्म सडकमै पार्किङ्ग र जथाभावी तरकारी पसल थाप्ने प्रवृतीले दैनिकजसो सडक जाम हुँदै आएको छ । 
    यस्तै मेनरोडस्थित नेता चौकदेखि हनुमाननगर रोडको मोडसम्म र राममन्दिर देखि नेताचौक सम्मको सिरहा रोडमा दैनिक सवारी जाम हुनुका साथै पैदल यात्रीलाई हिड्न समेत समस्या भएको राजविराज ७ का वडा सदस्य रामानन्द देव बताउछन् । 
    राजविराज नगरपालिकाले अहिलेसम्म पार्किङका लागि ठाउँ समेत निर्धारण गर्न सकेको छैन् भने फुटपाथमा पसल थापेर व्यापार गर्दै आएका व्यापारीलाई पनि व्यवस्थापन गर्न नसक्नुको कारण यस्तो समस्या आएको उनको भनाई छ । 
    यसबाहेक जिल्लाभरिबाट आउने इ–रिक्साका कारण सडक बढी जाम हुने गरेको छ । इ–रिक्साका लागि छुट्टै ठाउँ निर्धारण गर्न आवश्यक रहेको छ ।
    पटक–पटक नगरपालिकामा ट्राफिक व्यवस्थापनका लागि आवाज उठाउँदा पनि अहिले सम्म कार्यान्वयन नहुँदा जथाभावी पार्र्किङ्गले नगरलाई कुरुप बनाएको भन्दै वडा सदस्य देवले नगर प्रहरी भर्ना नभए सम्म यस्तो समस्या समाधान गर्न अप्ठ्यारो रहेको जिकिर गरे ।
    जथाभावी पाकिङ्गले सडक साँगुरो बनाउनुका साथै दुर्घट्नाको जोखिम पनि उत्तिकै रहेको राजिराज ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक नवनीत कुमार झाले बताउछन । फुटपाथ खाली नरहेकै कारण जताततै पैदल यात्रीले बाटो काट्ने, जथाभावी पार्किङ्गका कारण सडक साँगुरो हुने जस्ता समस्याले दुर्घट्नाको जोखिम बढेको उनको तर्क छ ।
    यता राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले नगरको ट्राफिक व्यवस्थापनका लागि छिट्टै पहल थालिने बताए । उनले प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला सबैसंग बैठक गरेर नगरक्षेत्रमा देखिएको जथाभावी पार्किङ्गको समस्या समाधानका लागि निर्णयमा पुग्ने र त्यसको कार्यान्वयन समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    कार्यवाहक नगरप्रमुख परवीनले नगरप्रहरी भर्ना प्रक्रिया अगाडी बढिसकेको भन्दै नगरप्रहरी भर्ना भएपछि जथाभावी पार्किङ्गको समस्या र फुटपाथ खाली गराउने जस्ता कार्य गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट