News Category 2083/02/14
...अनि श्रीमतीसँग माफी मागें
राजेश झा
राजविराज, १४ जेठ ।
“पहिला कसैले कुनै कागजमा सही गर्न दिंदा औंठा छाप लगाउने गर्थें, अरुले सही गर्दा मैले छाप लगाउँदा लाज लाग्ने गथ्र्यो अहिले त्यो लाज हटेको छ । अब त निर्धक्क भएर सही गर्ने गरेको छु ।” बनरझुलाकी ५५ बर्षिया कोशिलादेवी रामले यसो भनिरहँदा तालीको गडगडाहटले हल गुन्जियो ।
“अब त आफ्नो पैसा पनि बचत गर्न थालेको छु, आम्दानी खर्च पनि बुझ्न थालेकी छु” कोशिलादेवी पचास जनाभन्दा बढी सहभागीको अगाडि उभिएर निर्धक्कसाथ आफ्नो कुरा बताईरहेकी थिइन् “कसैसँग बोल्न पनि डर लाग्थ्यो, हिचकिचाहट हुन्थ्यो, अब त अगाडि जति मान्छे होस् बिना डराई बोल्ने गरेकी छु ।”
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनको बनरझुला टोलकी कोशिलादेवी मात्र होइन बेबीदेवी मण्डलले पनि आफ्नो नाम ठेगाना लेख्न सक्ने भएकी छिन् । स्थानीय नागो मण्डलले त आफ्नो रक्सी खाने बानी नै छुटिसकेको बताउँछन् । पहिला हरेक दिन साँझ रक्सी खाने गरेका नागो पछिल्लो एक बर्षदेखि आफ्नो रक्सी खाने बानी श्रीमतीको कारण छोड्न सकेको बताउँछन् ।
“समूहमा रक्सी खाने ब्यक्तिको श्रीमति भनेर मेरो बारेमा अनेक कुरा काट्ने गरिन्थ्यो, मलाई सधैं लाज लाग्ने गथ्र्यो” आफ्नो श्रीमानको रक्सी खाने बानीबाट दिक्क भएकी शिलियादेवीले भनिन् “मैले समूहमा हुने टिकाटिप्पणी र आफ्नो असहजताका बारेमा श्रीमानलाई सम्झाई बुझाई गरेपछि उहाँले रक्सी खान छोड्नुभयो ।” रक्सी खान छोडेपछि पैसा पनि बच्न थालेको र त्यसलाई तरकारी खेतीमा लगाउने गरेको बताउने नागो मण्डलले भने “बजारमा महँगो सिजनमा आफूले उब्जाएको तरकारी बेच्न सक्ने भएको छु ।”
ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत सप्रोस नेपालद्वारा विहिबार आयोजित सामुदायिक संवाद सिकाई आदान प्रदान कार्यक्रममा नागोले अब त घरमा कुनै काम गर्दा श्रीमान श्रीमती सल्लाह गरेरै गर्ने गरेको बताए ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सप्रोस नेपाल र दिदीबहिनी नामक गैर सरकारी संस्थाले वडा नं. ३, ४ र ५ मा ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । दुवै संस्थालाई कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आईएफएडी), युएन ओमन, विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठन(एफएओ) ले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।
गाउँपालिकाको तीन वटै वडामा महिलाहरुलाई कृषक समूहमा आबद्ध गरिएको छ । समूहमा आबद्ध महिला कृषकहरुलाई तालिम, बीऊबिजन, प्राविधिक सहयोग, सिंचाईका लागि मोटर, सिडी पम्प, पाईप लगायतको सहयोग गर्दै आएको छ । “आफ्नै खेत छैन, बटैयामा पाँच कठ्ठा जग्गा लिएर तरकारी खेती गर्दै आएको थिएँ” सुनौलो बिहानी महिला कृषक समूहकी सदस्य ममता मण्डलले भनिन् “विस्तारै १० कठ्ठा जग्गा बटैयामा लिएर तरकारी खेती गरिरहेकी छु । भैंसी पनि पालेकी छु दुध घरमा पनि खपत हुन्छ र बेच्ने पनि गरेकी छु । दुध बेचेर आएको पैसा बचत गर्ने गरेकी छु । श्रीमानले पनि सघाइरहनु भएको छ ।” ममताका श्रीमान शम्भु मण्डल एक महिना अघि मात्रै बैदेशिक रोजगारबाट फर्किएका हुन् ।
कार्यक्रम अन्तर्गत वडा नं. ३ सकरपुरामा १३, वडा नं. ४ कोईलाडीमा १६ र वडा नं. ५ को. बर्साइनमा २० वटा महिला कृषक समूह गठन गरि समूहका सदस्यहरुको क्षमता विकाससँग आयमूलक कार्यहरुमा सहयोग पु¥याइरहेको सप्रोस नेपालका कार्यक्रम प्रबन्धक नवीन चौधरीले जानकारी बताउँछन् ।
घरभित्र तथा परम्परागत खेतीमा रुमल्लिएका सिमान्तकृत वर्गका कृषक महिलाहरुमा सकारात्म परिवर्तन भएको आफूले पाएको स्थानीय विद्यालयमा ३१ बर्ष शिक्षण सेवा गरेका बर्साइनका अवकाश प्राप्त शिक्षक योगेन्द्र दासले बताए । “लामो समय विद्यालयमा शिक्षण पेशामा विताउँदा पनि विद्यालयमा आफ्ना बालबालिकाको नाम दर्ता गराउन महिला आएको कहिल्यै देखिन पुरुष नै आउने गर्थे” अवकाश प्राप्त शिक्षक दासले आफ्नो अनुभव सुनाउँदै भने “त्यतिबेला पुरुष नै घर परिवारमा हाबी रहेका थिए, अहिले त हाम्रो गाउँघरका महिला सबै क्षेत्रमा अगाडि बढ्दै गएको देख्छु ।”
पछिल्लो तीन बर्षदेखि गाउँपालिकाको तीन वटा वडामा कार्यक्रम सञ्चालनमा छ । समूहका महिलाहरुलाई कृषि तथा अन्य पेशा ब्यवसायलाई वृद्धि गरी आय आर्जनमा अभिवृद्धि गर्न वितीय साक्षरता कक्षा, लैंगिक कार्य सिकाई पद्धति जस्ता बिषयहरुका साप्ताहिक रुपमा कक्षा समेत सञ्चालन गर्ने गरिएकोले कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल बताउछन् । महिलाहरु सक्षम भएकै कारण बर्साइनस्थित कृष्णकुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालयको विद्यालय ब्यवस्थापन समितिमा महिला मात्र रहेको वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतको कथन छ ।
अहिले त समुदाय तथा परिवार स्तरमा झैं झगडा, हिंसाका घटनाहरुमा समेत कमी आएका पाइएको सप्रोस नेपालका सामाजिक आर्थिक सुपरभाइजर विमला न्यौपाने बताउँछिन् । हरेक समूहमा लैंगिक कार्य सिकाई पद्धति जस्ता बिषयमा समेत कक्षा सञ्चालन गर्ने गरेकाले त्यस्ता घटनाहरुमा कमी आएको न्यौपानेको कथन छ ।
“म समूहको बैठकमा आबद्ध भएर बैठक तथा तालिमहरुमा जान थालेपछि विदेशमा रहेका श्रीमानले फोन गरेर गाली गर्नुहुन्थ्यो, त्यस्ता बैठकहरुमा जानु हुँदैन भन्नुहुन्थ्यो” सुनौलो बिहानी महिला कृषक समूहका सदस्य ममता मण्डलले भनिन, मेरा सासु ससुराले जति सम्झाउँदा पनि विश्वास लागेन, त्यस्ता बैठक तालिममा गएर विग्रिन्छौ भन्नुहुन्थ्यो । सबै कुरा सम्झाई बुझाई गरें बैठकमा पनि सँगै लगें, सबै कुरा आफ्नै आँखाले देखेपछि बल्ल विश्वास भयो र अहिले एकदमै सहयोगी हुनु भएको छ ।”
“शुरु शुरुमा म निकै रिसाएँ, बैठक तालिममा गएपछि महिला विग्रिन्छ भनी गाली गर्थें” ममताका श्रीमान शम्भु मण्डलले भने “विदेशबाट फर्किर सबै कुरा आफ्नै आँखाले हेरें, परिवारमा भएको प्रगतिका कुराहरु बुझेंपछि श्रीमतिसँग माफी मागें । अहिले त बैठक र तालिमहरु हुँदा आफै पु¥याउन पनि जाने गरेको छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ