News Category 2073/02/22

खाजा खुवाए वापत अभिभावकलाई १२ रुँपैया प्रोत्साहन

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २१ जेठ । 
सप्तरीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी हुन नसकेपछि अभिभावकहरु बालबालिकाका लागि आफै खाजा ल्याएर खुवाउन थालेका छन् । जस वापत विद्यालयले दैनिकी रु. १२ को दरले प्रोत्साहन रुवरुप खाजा भत्ता दिने गरेको छ । 
सरकारले सामुदायिक विद्यालयहरुमा प्राथमिक तहका विद्यार्थीहरुका लागि विद्यालयमै खाजा खुवाउने व्यवस्था मिलाएको थियो । तर, त्यसमा व्यापक अनियमितता तथा खाजा गुणस्तरिय नभएको अभिभावकहरुले गुनासो गरेपछि जिल्ला शिक्षा कार्याल सप्तरीले अहिले अभिभावक स्वयमले नै खाजा खुवाए वापत सो भत्ता दिने गरेको जनाएको छ । जस वापत विद्यालयले अभिभावकले खुवाउने खाजाको प्रति दिन रु. १२ को दरले मासिक रुपमा प्रोत्साहन स्वरुप भत्ता दिने गरेको हो । 
जिल्ला शिक्षा कार्यालय सप्तरीले अभिभावक स्वयमंले खाजा खुवाउने व्यवस्था अहिले सप्तरीको ५७ वटा विद्यालयमा लागु गरिएको जनाएको छ । सप्तरीका जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले शैक्षिक सत्र २०७३ साल बैशाख महिनाबाट जिल्लाको ५७ वटा विद्यालयहरुमा अभिभावक स्वयमं खाजा खुवाउने र सो वापत रु. १२ का दरले खाजा वापत रकम दिने व्यवस्था गरेको जानकारी दिनुभयो । 
उहाँले सो रकम जिल्ला शिक्षा कार्यालय सप्तरी मार्फत विद्यालयले दिएको तथ्याङ्क अनुसार सम्बन्धित विद्यालयको खातामा जाने र विद्यालयले महिनाको अन्तिममा अभिभावकलाई वितरण गर्ने जनाउनुभयो । 
यसको जल्दाबल्दो उदाहरण बनेको सप्तरीको कोचाबखारी ८ स्थित श्री जनता राप्रावि । यस विद्यालयमा करिब २ सय जना बालबालिकाहरु अध्ययनरत छन् । यसअघि यस विद्यालयमा विद्यालय प्रशासनले आफै दिवा खाजा खुवाउने गरेको थियो । तर, विद्यालयले कहिले खाजा नखुवाउने त कहिले खाजामा च्युरा मात्र दिने गरेको अभिभावकहरुको व्यापक गुनासो आएपछि जिल्ला शिक्षा कार्यालय सप्तरीले अभिभावक स्वयमंले खाजा खुवाउने र त्यस वापत रु. १२ प्रत्येक दिन दिने व्यवस्थ मिलाएको हो ।
उक्त विद्यालयका प्रधानाध्यापक तेजनारायण मंडलले अहिले अभिभावक स्वयमंले बालबालिकाका लागि टिफिनको समयमा खाजा बोकेर ल्याउने गरेकोमा विद्यालय प्रशासनले मात्र उनीहरुले खाजा ल्याएको नल्याएको निगरानी गरेर रजिष्टरमा चढाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीेको नाममै खाजा भत्ता निकासा हुने र महिनाको अन्तिममा सो वापत जोडेर रु. १२ को दरले एकमुष्ट रकम अभिभावकहरुलाई दिने गरेको जानकारी दिनुभयो । 
यस प्रकारको प्रोत्साहनले बालबालिकालाई नियमित विद्यालय आउन मद्दत पुग्ने र अभिभावकले पनि बालबालिकालाई विद्यालय पठाउन नियमित गर्ने भन्दै प्रअ मंडलले बालबालिकाले आफुलाई मन लागेको खाना समेत खान पाउने बताउनुभयो । 
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीद्धारा संचालित स्पोन्सरसीप कार्यक्रम अन्तरगत सो विद्यालयमा बालबालिकाको शैक्षिक विकासका लागि कम्पाउण्ड वाल, शौचालय मर्मत, बालबालिका लागि हात धुने कोठा निर्माण गरेकोे छ ।  
यसैबिच उक्त कार्यक्रमको शुक्रबार एक समारोहबिच सरोकारवाला निकायहरुले सामुहिक रुपमा अनु्गमन गरेको छ । सो अनुगमनमा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राई, महिला बालबालिका कार्यालयकी अधिकृत चन्द्रकला श्रेष्ठ, सगरमाथा अपाङ्ग संघका अध्यक्ष बलदेव मण्डल, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधी, संचारकर्मी लगायतको सभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट