News Category 2070/06/05

सप्तरीबाट पा“च राजनीतिक दलद्वारा ३ सय ३६ उम्मेदबारको नाम सिफारिस सबैभन्दा बढी का“ग्रेसबाट ९२, सद्भावनाबाट ९१ उम्मेदबार

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, ४ असोज ।
आगामी मंसिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनका लागि अहिले सप्तरीमा विभिन्न राजनीतिक दलहरु तिब्र तयारीमा जुटेका छन् । 
जिल्लामा रहेको ६ वटै क्षेत्रबाट विभिन्न दलहरुले उम्मेदबारको नाम धामाधम सिफारिस गर्दैछन् । 
हालसम्म सप्तरीबाट पाँच राजनीतिक दलद्वारा ३ सय ३६ जना उम्मेदबारको नाम सिफारिस भइसकेको छ । 
जिल्लाबाट उम्मेदबार नाम सिफारिस गर्नेमा सबैभन्दा पहिले नेकपा एमाले रहेको छ । एमाले जिल्ला कमिटिले ६ वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका ३४ जना उम्मेदबारहरुको नाम सिफारिसगरि केन्द्र पठाइसकेको छ । 
त्यसपछि राप्रपाले पनि सम्पूर्ण क्षेत्रबाट गरि ४४ जना उम्मेदबारहरुको नाम सिफारिसगरि केन्द्र पठाएको दुई दिन नबित्दै त्यसको समानान्तर समितिले समेत जिल्लाको सबै क्षेत्रबाट ३८ जना उम्मेदबारको नाम सिफारिसका लागि केन्द्र पठाएको हो । 
हालैमात्र नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले उम्मेदबार सिफारिसमा आफ्नै नेता तथा कार्यकर्ताहरुको व्यापक बिरोध पश्चात् सम्पूर्णलाई समेटेर अन्तत ६ वटै क्षेत्रबाट ९२ जना उम्मेदबारको नाम केन्द्र सिफारिस ग¥यो । 
त्यस्तै सद्भावना पार्टी सप्तरीले २ नं. क्षेत्रको प्रत्यक्ष बाहेक सम्पूर्ण क्षेत्रबाट आफ्नो जम्बो उम्मेदबारको नाम केन्द्र सिफारिस गरेको छ । सद्भावनाले ९१ जना उम्मेदबारको नाम सिफारिस गरेको हो । 
दुई दिन अघि मात्र मधेशी जनअधिकार फोरम नेपाल सप्तरीले आफ्ना जिल्लाको ६ वटै क्षेत्रबाट केन्द्रिय अध्यक्षसहित ३७ जना उम्मेदबारको नाम सिफारिस ग¥यो । 
यता उम्मेदवारी मनोनयनको समय एक हप्ता पर सरेको अवस्थामा समेत दलहरु आ–आफ्नो आन्तरिक तयारीमा जुटेका छन् । 
यसअघि संविधानसभा निर्वाचनका लागि जिल्लाको ६ वटै क्षेत्रको निर्वाचन कार्यालय समेत स्थापना भइसकेको छ । 
जिल्लाको.वसविटी गाविस ७ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ६ वटै क्षेत्रको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नं. १ का लागि चन्द्र बहादुर सारु, क्षेत्र नं. २ का लागि राजेन्द्र अधिकारी, क्षेत्र नं. ४ का लागि बद्री प्रसाद ओली, क्षेत्र नं. ५ का लागि तेजनारायण पौडेल र क्षेत्र नं. ६ का लागि कमलप्रसाद पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ । 
यस्तै जिल्लाको ६ वटै क्षेत्रका लागि जिल्ला न्यायाधिश रामप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने उहाँले नै क्षेत्र नं. ३ को समेत जिम्मेवारी दिइएको छ । 
जिल्लाको सम्पूर्ण क्षेत्रको मतदान केन्द्र संख्या समेत सोही कार्यालयमा टाँस गरिएको छ । जसअनुसार क्षेत्र नं १ मा ८६, क्षेत्र नं. २ मा ७४, क्षेत्र नं. ३ मा ८१, क्षेत्र नं. ४ मा ७५, क्षेत्र नं. ५ मा ७६ र क्षेत्र नं. ६ मा ७६ गरि जम्मा ४ सय ६८ मतदान केन्द्र तोकिएको छ । 
यसअघि निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले गाउँ गाउँमा खटिने कर्मचारी तथा गाविस सचिवहरु गरी ८ सय जनालाई मतदाता शिक्षा सम्बन्धि तालिम दिएको छ ।
ती कर्मचारीहरु मध्ये ५ सय ६० जनालाई मतदाता परिचयपत्र बितरण र मतदाता शिक्षा सम्बन्धित घरदैलोमा प्रचार प्रसारमा खटाईने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
त्यसैगरि गाविस सचिवहरुलाई निर्वाचन प्रभावकारी ढंगले सम्पन्न गराउन वातावरण बनाउनका लागि तालिम दिइएको उहाँले बताउनुभयो ।
यता निर्वाचन कार्यालयले उम्मेदबारीका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज १७ र समानुपातिकतर्फका लागि निवेदन दिने दिन असोज १४ र बन्दसूची भने असोज १८ गते रहेको छ । यसअघिको कार्यतालिका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता असोज १० र समानुपातिकतर्फको निवेदन दर्ता असोज ७ गतेका लागि तय भएको तथा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाउने मिति भने असोज ११ गतेका लागि निर्धारण गरिएको थियो । 
यस्तै प्रत्यक्ष निर्वाचनतर्फ असोज १७ गते मनोनयन गर्ने उम्मेदवारलाई आयोगले असोज २४ गते निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

प्रतिकृया दिनुहोस