News Category 2070/07/06

आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयले राजनीतिक दलका उम्मेदवारहरुस“ग स्पष्टीकरण माग्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ कात्तिक । 
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय सप्तरीले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई लिखित तथा मौखिक स्पष्टीकरण सोधेको छ । 
यसरी निर्वाचन कार्यालय सप्तरीले क्षेत्र नं. २ का एकीकृत नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएका अशोक कुमार मण्डल, सोही क्षेत्रका सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएका नवल किशोर साह, क्षेत्र नं. ३ का सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएका अनिस अन्सारी, क्षेत्र नं. ५ का नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका तेजुलाल चौधरीलाई मौखिक तथा लिखित स्पष्टीकरण सोधिएको हो । 
क्षेत्र नं. २ का मण्डलले आचार संहिता विपरीत निर्वाचन प्रयोजनका लागि तुल ब्यानर झुण्ड्याएको सम्बन्धी उजुरी परेपछि सो कार्यालयले टेलिफोन मार्फत २४ घण्टा भित्र त्यस्ता तुल ब्यानरहरु हटाउन भनेको थियो । यसरी निर्वाचन कार्यालयले भने पश्चात् मण्डलले ती तुल ब्यानरहरु तोकिएको अवधिभित्र हटाउनु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
यसैगरी सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार नवल किशोर साहमाथी एक फुटबल प्रतियोगिताको उद्घाटन गरेको भनी लिखित उजुरी परेको थियो । यसरी उजुरी परेपछि निर्वाचन कार्यालयले उहाँलाई आचार संहिता विपरीत प्रतियोगिताको उद्घाटनमा संलग्न भएको भनी स्पष्टीकरण सोध्दा साहले अब उपरान्त यस्ता गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जनाउनु भयो । 
सोही क्रममा क्षेत्र नं. ३ का सद्भावनाका उम्मेदवार अन्सारीले साझा प्रकाशनको मुख्य शाखा कार्यालय राजविराजको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा जनतासँग आफ्नो पक्षमा भोट हाल्न भनेको उजुरी परेको थियो । सो उजुरी पश्चात् निर्वाचन आयोग काठमाडौंले जिल्ला निर्वाचन कार्यालय सप्तरीलाई सो सम्बन्धमा उम्मेदवार अन्सारीसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको बताइएको छ । यस सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले अन्सारीसँग आयोग र निर्वाचन कार्यालय सप्तरीले एक दुई दिन भित्रै स्पष्टीकरण सोध्ने तयारी भईरहेको बताउनु भयो । 
यसैगरी क्षेत्र नंं ५ का उम्मेदवार चौधरीले निर्वाचन आचार संहिता विपरीत निर्वाचन क्षेत्रमा आफ्नो प्रचार प्रसारका लागि माईकिङ गरेको भनी निवेदन परेको थियो । यसरी निवेदन परेपछि निर्वाचन कार्यालय सप्तरीले उहाँसँग ९८५१०५२२७७ फोन नम्बरमा सम्पर्क गर्दा सो नम्बर चौधरीको नभएको जवाफ आएको निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले जनाउनु भएको छ । प्रमुख साहले सो फोन नम्बर उम्मेदवारी दर्ताका बखत चौधरीका तर्फबाट भरिएको फारममा उल्लेख गरिएको समेत जनाउनु भयो ।
यसैबीच निर्वाचन प्रमुख साहले उम्मेदवारहरु विरुद्धमा दिनहुँ दुई तिन वटासम्म आचार संहिता उल्लंघन गरेको उजुरी जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला निर्वाचन कार्यालय सप्तरी र निर्वाचन अधिकृतको कार्यालय सप्तरीमा समेत पर्ने गरेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट