News Category 2075/05/17

राम मनोहर यादवको हत्या राष्ट्रको निधारमा कलंक ः तमरा अभियान, तमरा अभियानद्वारा उपेन्द्र यादवको बिरोध गर्न आह्वान

दैनिक समाचारदाता

राजविराज÷तराई मधेश राष्ट्रिय अभियानले बर्दीयाका मधेसी राजनीतिक कार्यकर्ता राम मनोहर यादवको प्रहरी थुनामा हत्या गरिएको कार्यलाई राष्ट्रको निधारमा कलंकको संज्ञा दिएको छ । 
तमरा अभियानका संयोजक जयप्रकाश गुप्ताले शनिबार एक विज्ञप्ति जारि गर्दै भनेका छन्, “यो सामान्य घटना नभै प्रहरी थुनामा दिइएको यातनाका कारणले मृत्यू भएको हो । राज्यको यस जघन्य अपराधको जतिनै निन्दा गरेपनि अपुग हुनेछ ।”
स्वास्थ्य मंत्री तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा बर्दियामा कालो झंण्डा प्रदर्शन गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखिएको थियो । उनको संलग्नता वा आवद्धता जोसंग भएपनि स्पष्टत उनी राजबन्दी रहेको विज्ञप्तिमा जनाइएको छ । 
सोही विज्ञप्तिमा राम मनोहर यादव एक राजनीतिक कार्यकर्ता रहेको भन्दै कुनैपनि थुनुवाको जीवनरक्षाको कानूनी र मानवीय दायित्व राज्यको हुने उल्लेख गरिएको छ । 
यस्तै थुनामा अशक्त भएपछि उनको समुचित उपचार नगराइएको आरोप लगाउँदै विज्ञप्तिमा मृत्यू निश्चित भएपछि मात्र उनलाई एम्बुलेन्सबाट नेपालगंज लान लाग्दा बाटोमा मृत्यू भएको दाबी गरिएको छ । 
अभियानका संयोजक गुप्ताले मधेसी राजनीतिक प्रदर्शकारीहरूलाई यातना दिने, उनी प्रति सदैब असहिष्णु व्यवहार राख्नु पर्ने र ताकी ताकी गोली प्रहार गर्ने राज्यको नीति कै यो निरन्तरता हो भन्दै विज्ञप्तिमा आरोप लगाएका छन् । 
यस्तै जारि विज्ञप्तिमै विगतका घटनाहरुप्रति स्मरण गराउँदै भनिएको छ, “उपप्रधानमंत्री उपेंद्र यादवको कार्यक्रममा कालो झंडा देखाएकै कारण राम मनोहर यादवलाई पक्राउ गरि राज्य विप्लवको मुद्दा चलाउने तैयारी गरिएको थियो । मन्त्री उपेन्द्रकै निर्देशनमा उनलाई गिरफ्तार गरिएको थियो । हामी सबैले सम्झिनु पर्ने छ कि, एक जना कार्यकर्ताले पूर्व प्रम झलनाथ खनाललाई झापड हानेका थिए । अर्का प्रम डा.बाबुराम भट्टराई उपर आक्रमण गरेका थिए । सिरहामा स्वयं उपेन्द्र यादवकै कार्यकर्ताहरूले पूर्व प्रम प्रचण्ड उपर भौतिक आक्रमण गरेका थिए । यी सबै घटनाहरूमा खनाल, भट्टराई र प्रचण्डले पहल गरी मुद्दा नचलाउन प्रहरीलाई अनुरोध गरेका थिए । जबकि, उपेन्द्र यादब आफु जस्तै एक मधेसीका उपर मुद्दा चलाउन, यातना दिन प्रहरीलाई दबाव दिएका छन । समयको चेतनाले उपेन्द्र यादबसंग यस हत्याको हिसाब मिलान गर्नेछ ।” 
विज्ञप्तिको अन्तमा तमरा अभियानले मधेस भर उपेन्द्र यादबको शसक्त शान्तिपूर्ण बिरोध गर्न आह्वान गर्दै भनिएको छ, “राम मनोहर यादबको हत्याको छानबिनको मांग गर्नु अर्थहीन रहेका छ, उनको आत्माले कहिले पनि न्याय पाउने छैन । उनको आत्माको शांतिका लागि मधेसीहरूले एकै साथ आतंककारी सरकार र सत्ता समर्पण मुद्दा बिसर्जनवादी मधेसी दलहरूका बिरूद्ध संघर्षलाई अगाडी बढाउनु पर्दछ ।”

प्रतिकृया दिनुहोस