News Category 2080/01/10

तीनै क्षेत्रमा मतदान सम्पन्न

दैनिक समाचारदाता

तीनै क्षेत्रमा मतदान सम्पन्न

दैनिक समाचारदाता
काठमाडौं १० बैशाख । 

    तनहुँ १, चितवन २ र बारा २ मा आइतवार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ ।
    निर्वाचन अधिकारीहरुका अनुसार तनहुँ १ मा ५२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
    उक्त क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए । मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुने उनले जानकारी दिए ।
    तनहुँ १ मा ९ जना उम्मेदवार छन् । जहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ ।
    यस्तै, बारा २ मा झण्डै ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत एवम् बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायले बताए । बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन् । उपनिर्वाचनमा मंसिरको निर्वाचनमा भन्दा कम मत खसेको छ ।
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहित उपचुनावमा ३४ जना उम्मेदवार छन् ।
    चितवन २ मा झण्डै ६२ प्रतिशत मत खसेको छ । गत मंसिर ४ मा भएको चुनावमा यी तीनै क्षेत्रमा बढी मत खसेको थियो । चितवनमा झण्डै ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । 
    यता बारामा मतदानस्थल नजिकै आएका भनिएका अन्य जिल्लाका चारजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भइरहेको हो ।
    चितवन–२ त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो । जसमा लामिछाने स्वयंसमेत उम्मेदवार छन् ।
    आइतबार दिउसो चितवनकै नवकिरण माविमा रवि लामिछाने र अन्य दल पक्षधरबीच विवाद हुँदा तीन घण्टाभन्दा बढि समय अवरुद्ध बनेको मतदान रास्वपाले माफी माग्नेगरी भएको सर्वदलीय सहमतिपछि पुनः सुरु गरिएको थियो ।
    रवि लामिछाने पक्षधहरूले उनको पक्ष नाराबाजी गरेसँगै उत्पन्न उक्त विवादलाई नियन्त्रणमा लिने क्रममा विद्यालय परिसरबाहिर प्रहरीले बल प्रयोग समेत गरेको थियो ।
    चितवनको उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बारा–२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन् । तनहुँ–१ मा भने सबै ९ जना राजनीतिक दलका उम्मेदवार छन् ।
    निर्वाचन आयोगले चुनावकै दिन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बारा–२ मा ‘अनुमतिबिना’ गरेको भ्रमणलाई लिएर त्यहाँ पुग्नुको कारण स्पष्ट पार्न भन्दै स्पष्टिकरण सोधेको छ ।
    उक्त क्षेत्रका केही मतदान केन्द्रमा बुथहरू सुरक्षित नरहेको र कब्जा हुनसक्ने भन्दै नेताहरूबाट सार्वजनिक अभिव्यक्ति आउन थालेपछि थप सुरक्षाकर्मी पठाइएको आयोगले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट