News Category 2080/09/22

राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित

दैनिक समाचारदाता

राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    सात बुँदे माग राख्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित भएका छन् । जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी उनीहरु आन्दोलित भएका हुन् । 
    वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
    १६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए । 
    बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । नगरको मुख्य बजार क्षेत्रमा वर्षौदेखी बसोवास गर्दै आएका बिटोरी जग्गावाहक ५ हजार भन्दा बढी परिवार विगत सात वर्षदेखी समस्या पर्दा विक्रि गर्न र बैंकमा राखेर ऋण समेत लिन सकेका छैनन् । समस्या पर्दा जग्गा बैंकमा धितो राखेर ऋण समेत लिन नपाउँदा कतिपय समस्या परेका बेला साहु महाजनसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएका छन् । 
    यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ । 
    यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ । 
    उक्त मागहरु सात दिनभित्र पूरा नगरिए बाध्य भई आन्दोलन चर्काउने र यसको सम्पूर्ण जिम्मेवारी नगरपालिका नै हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख परविनले उक्त समस्या समाधान गर्न आफू गम्भिर रहेको र छिट्टै बैठकबसी समाधान खोजिने प्रतिबद्धता जनाएकी थिइन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट