News Category 2081/01/04

प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने

दैनिक समाचारदाता

प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने

दैनिक समाचारदाता
राजविराज, ४ वैशाख ।

    क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीले गठन भएको पाँच वर्षदेखि लगातार क्रिकेट प्रतियोगितको आयोजना गर्दै आएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत यस पटक पनि सोही प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ । 
    आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले बैशाख ५ गते जिल्लाका ९ क्लब सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी दिएका छन् । 
    सो प्रतियोगितामा जिल्लाको युथ एकेडेमी राजविराज, सबल नेपाल, राजदेवी राइजिङ्ग क्लब, तिलाठी कोइलाडी क्लब, कंचनरुप रुपनगर क्रिकेट क्लब, रुपनी राइडर्स, बजाज खडक यङ एलेवन, माँ काली छिन्नमस्ता क्लब र वाईइसी विरपुर क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहने उनले बताए । 
    प्रतियोगिताको वार्षिक कार्यक्रम अन्तर्गत राजविराज नगरपालिका तथा सप्तरी क्रिकेट संघसँग समन्वय गरेर बैशाख ५ गते देखी १२ गते सम्म जिल्लाका क्लबहरुलाई समेटेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । 
    युवाहरुलाई कुलतबाट जोगाउन तथा उनीहरुलाई खेलको माध्यमबाट असल नागरीक बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्दै आएको बताउँदै उनले यसबाट नयाँ नयाँ प्रतिभावान खेलाडीको उदय हुने विश्वास समेत गरे । 
    जिल्लामा क्रिकेट खेलको विकासका लागी हामी निरन्तर प्रतियोगिता गर्दै आए पनि स्थानीय, प्रदेश र संघिय सरकारहरुबाट अपेक्षा गरे अनुसारको सहयोग पाउन नसकेको भन्दै उनले यसतर्फ तीन वटै तहका सरकारको पनि चासो उत्तिकै जरुरी रहेको बताए ।
    राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा लिग कम नक आउट प्रणालीको आधारमा टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, प्रमाण पत्र र नगद २५ हजार तथा दोश्रो हुनेले ट्रफी, प्रमाण पत्र र १५ हजार नगद पुरस्कार पाउने जनाइएको छ । 
    प्रतियोगितको पाँचौ संस्करणमा वेस्ट बलर, वेस्ट ब्याटसम्यान, म्यान अफ द सिरीज लगायतका विद्यामा पनि पुरस्कारको व्यवस्था मिलाइएको प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट