News Category 2081/01/10

सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 

दैनिक समाचारदाता

सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    सप्तरीको कञ्चनरुप नगरपालिका ५ परेमारामा आइतवार दिउँसो भिषण आगलागि भएको छ । सो आगलागिमा १२ परिवारको २४ घर जलेर खरानी भएको छ । 
    परेमारास्थित लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको छ ।
    यो सँगै यो वस्तीमा छैठो पटक आगलगीको घटना भएको हो । यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलगीको घटना भएको स्थानीयहरुले बताएका छन् । 
    आगोले लालमोहन सरदार, आशा सरदार, लालबहादुर सरदार, विजली सरदार, त्रिभुवन सरदार, सुधिर सरदार, बिर बहादुर सरदार, रामबहादुर सरदार, श्यामबहादुर सरदार, समुन्द्री सरदार, करण चौधरी लगायत १२ परिवारलाई बेघर बनाएको छ ।
    आगलगीमा उनीहरुका २४ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए । 
    आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् । आगलगी पीडितहरु अहिले बाँसको पाल लगाएर बसेको भएपनि दिउँसैदेखि चलेको हावाहुरीले कतिपयको पाल उडाएपछि उनीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल थालेको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बताए । 
    आगो दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुण यन्त्रका साथै प्रहरी र स्थानीयवासी सक्रिय थिए । 
    आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताए । 
    आगलगीको खबर पाए लगतै पुगेका कञ्चनरुप नगरपालिकाका मेयर गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक गज्जुसिद्धि बज्राचार्य लगायतले अग्नि पिडितहरुसँग भेटी उनीहरुको व्यवस्थापनका लागि पहल थालेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट