News Category 2075/01/30

जनकपुर अयोध्या “रामायण सर्किट” बस सेवा सुरु

दैनिक समाचारदाता

जनकपुर÷प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शुक्रबार जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्दै संयुक्त रूपमा नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ गरेका छन् । 
दुबै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर सो बस सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट समेत गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गरे । 
भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गरे ।
के हो रामायण सर्किट ?
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किट रुटको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुरमा दुई देशका प्रधानमन्त्रीले सो ६ सय ५० किलोमिटर लामो सर्किट रुटको उद्घाटन गरेका हुन् ।
सर्किट उद्घाटनसँगै जनकपुरबाट अयोध्याका लागि सिधा बसलाई ओली र मोदीले बिदाइ गरेका छन् । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बस सेवाको उद्घाटन गरेसँगै रामायण सर्किटको चर्चा थपिएको थियो ।
भारतले सन् २०१४ र १५ को बजेटमै रामायण सर्किटको अवधारणा अघि सार्दै बजेट विनियोजन गरेको थियो । यो रुट त्रेतायुगमा भववान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ । 
जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको धार्मिक भूमि नै अहिले रामायण सर्किटका नामले परिचित भएको छ । सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्न लक्ष्य लिएको छ । बहृत् रामायण सर्किटमा भने श्रीलंकासमेत जोडिने छ ।
सर्किटको उद्घाटन गर्दै दुवै प्रधानमन्त्रीले यसको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले विगमा रामायण सर्किट निर्माणबारे सम्झौता भएर रोकिए पनि अब काम नहुने अवस्थाको अन्त्य भएको घोषणा गरे । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले दुवै देशका करोडौं नागरिकलाई रामयण सर्किटले जोड्ने र दुवै देशको पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।
६ सय ५० किलोमिटर लामो सर्किट भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोड्ने छ ।

प्रतिकृया दिनुहोस