News Category 2080/06/21

शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा

दैनिक समाचारदाता

शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 

    शारिरीक रुपमा अशक्त एक शिक्षकले पालिकाको तर्फबाट राजिनामा गर्न दिएको दबाबका कारण आफूलाई थप पीडा भएको गुनासो गरेका छन् ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहाका ५८ वर्षिय शिक्षक रामबिलास पण्डितले यस्तो गुनासो पोखेका हुन् । उनी उक्त विद्यालयका स्थायी शिक्षक हुन् । 
    शारीरिक असक्तताका कारण उनी ह्वील चेयरको प्रयोग गरि शिक्षण पेशालाई निरन्तरता दिँदै आएका छन् । सेवानिवृत हुन डेढ वर्ष मात्र बाँकी रहँदा राजिनामा गर्न नगरपालिकाले दबाब बढाउँदै लगेपछि उनी थप पीडामा परेका छन् । 
    उनले भने ‘मलाई ढाड र खुट्टामा चोट लागेकोले तीन बर्षदेखि उपचाररत छु, खुट्टाले अपाङ्ग भएपनि घरबाटै ह्वील चेयर प्रयोग गरि विद्यालय गई दैनिक पठनपाठनको काम गर्दे आएको छु तर विद्यालयका प्रअ सत्यनारायण पासवानले पनि सहयोग गर्नुको सट्टा नगरप्रमुख र विद्यालय निरिक्षकसँग मिलेर मलाई जागिरबाट जसरी पनि हटाउने रणनीतिमा लागेर थप पीडा दिएको छ ।’ 
    नगरपालिकाले आफूमाथी पूर्वाग्रह राखेर हाजिरीसँगै तलबमा समेत रोक लगाएको उनको कथन छ । २०७९ कात्तिकदेखी रोकिएको तलब शिक्षक महासंघको पहलमा २०८० बैशाखसम्मको भुक्तानी गरिएपनि त्यसपछि तलब र हाजिरी गर्न दुबै रोकिएको उनले बताए । 
    नेपाल सरकारले अपाङ्गमैत्री विद्यालय बनाउन भनेपनि यहाँ अपाङ्ग भएकै कारण पुर्वाग्रही भएर जागिर नै खोस्न लागेको उनले पीडा पोखे । 
    यता डाक्नेश्वरी नगरपालिकाले २०८० भदौ  २७ गते शिक्षक पण्डितको नाउँमा तलव भत्ता रोक्का र हाजिरी रोक्का राख्न विद्यालयलाई पत्राचार गरेको छ । ‘डाक्नेश्वरी नगरपालिका शिक्षा समितिको २०८० बैशाख १२ गतेको निर्णय अनुसार राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहामा कार्यरत शिक्षक रामविलास पण्डित पूर्णरुपमा अपाङ्ग भएको तथा कक्षाकोठामा शिक्षण सिकाई कार्य गर्न नसकिने अवस्थामा रहेको साथै हिडडूल तथा उठ्न बस्न तथा शिक्षण सिकाईसँग सम्बन्धित कुनै किसिमको क्रियाकलाप गर्न नसकिने अवस्थामा रहेकोले निज शिक्षकलाई यस नगरपालिकाबाट पाउने सेवा सुविधा उपलब्ध नगराउने तथा विद्यालयको कामकाजमा नलगाउने निर्णय भएको र उक्त निर्णयको मिति २०८० बैशाख १५ मा नगरकार्यपालिका बैठकबाट समेत अनुमोदन भएको हुनाले शिक्षा समितिको निर्णय बमोजिम कार्यान्वयन गर्न आदेशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।
    नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादवले स्थायी शिक्षकलाई जवर्जस्ती राजीनामा गराउने अधिकार नगरपालिकासँग नरहेको प्रतिक्रिया दिए । उनले भने ‘अपाङ्ग भएकै कारण सेवाबाट हटाउन पाउँदैन, विशेष प्रकृतीका शिक्षकलाई अपाङ्गमैत्री विद्यालय बनाएर सुविधा दिनुपर्नेमा यहाँ त उल्टै क्षेत्राधिकार बाहिर गएको देखियो ।’ 
    विद्यालय निरीक्षक कृष्णप्रसाद यादवले हामीले राजीनामा गर्न दवाव नदिएको तर, शिक्षा समिति र कार्यपालिकाको निर्णय अनुसार हाजिरी र तलव रोकेको बताए । उनले भने ‘स्थायी शिक्षकको राजिनामा लिने अधिकार पालिकासँग छैन्, हामीले दवाव पनि दिएको छैन ।’
    विद्यालयका प्रअ सत्यनारायण यादवले आफूले राजिनामा गर्न नभनेको तर पालिकाबाट आएको पत्रानुसार हाजिरी र तलव रोकिएको प्रतिक्रिया दिए ।
    डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले शिक्षक पण्डित पूर्ण अपाङ्ग रहेको र पढाउन सक्ने अवस्थामा नरहेकोले उनको हाजिरीसँगै तलव भत्ता रोकिएको जानकारी दिए ।
    उनले कुनै गलत भावनाबाट यस्तो नगरेको बताउँदै अध्ययन अध्यापन नै गर्न नसकिने अवस्थामा रहेको शिक्षक पण्डितका कारण विद्यालय ठप्प हुँदै आएकोले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट