News Category 2079/04/28

संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा

दैनिक समाचारदाता

संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा

दैनिक समाचारदाता
जनकपुर, २८ साउन । 

    मधेश प्रदेश सरकारले आइतबारदेखी संघ सरकारबिरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनमा गम्भीरता नदेखाएको भन्दै प्रदेश सरकारले आन्दोलनको घोषणा गरेको हो ।
    मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघ सरकारले प्रहरी समायोजनमा गम्भीर नभएको भन्दै शनिवार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    आन्दोलनका कार्यक्रम अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने रहेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्ना कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाज, वुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहने छ ।
    धर्ना कार्यक्रम एक सातासम्म चल्ने र त्यसपछि पनि संघ सरकार गम्भीर नभए दोस्रो चरणका आन्दोलन घोषणा गर्ने मन्त्री साहले बताए । 
    उनले गठबन्धनमा रहेका केही दल संघीयता विरोधी रहेको र उनीहरू संघीयता सबल नहोस् भन्ने चाहेकाले प्रहरी समायोजना गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।
    प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको र त्यसपछि प्रदेश प्रमुख मार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउँदै उनले संघीय सरकारले वास्ता नगरेपछि बाध्य भएर धर्ना दिन लागिएको जानकारी दिए । 
    यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । 
    गृह तथा सञ्चारमन्त्री साहले संघीय संसदबाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले शीघ्र रुपमा प्रहरी समायोजन हुनुपर्ने बताए । 
    संविधानको धारा २६८ ले प्रदेश प्रहरीको संगठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडि नै प्रहरी समायोजन हुनु पर्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट