News Category 2081/06/04

किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा

दैनिक समाचारदाता

किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा

नवीनकुमार गुप्ता
राजविराज, ४ असोज ।  

    सप्तरीस्थित एक वित्तीय संस्थाबाट किर्ते कागज बनाई अर्कैको नाउँमा ऋण निकालिएको खुलासा भएको छ ।
    सप्तरीको विष्णुपुर गाउँपालिकास्थित नहर चौकमा अवस्थित सम्पदा लघुवित्त वित्तिय संस्था लि. (साविकको सबैको लघुवित्त वित्तिय संस्था लि.) बाट राजविराज वडा नं. ७ निवासी गायत्री देवी दासको नाउँमा किर्ते कागज बनाई ऋण स्वीकृत गराएको झण्डै डेढ वर्षपछि सम्बन्धित व्यक्तिले आफ्नो नाउँमा ऋण निकालिएको थाहा पाएपछि सो खुलासा भएको हो । 
    उनले आफ्नो नाउँबाट किर्ते गरि विभिन्न आवश्यक कागजातहरु बनाई रु. एक लाख ऋण निकासा भएपछि न्यायका लागि विभिन्न निकायमा भौतिरिदै आएकी छिन् । 
    बि.स. २०७९ माघ १८ गते किराना पसलका लागि रु. एक लाखको ऋण स्वीकृत भएको थियो । जबकी गायत्रीले कहिले आफ्नो नाउँबाट उक्त वित्तीय संस्थामा कारोबारका साथै ऋणका लागि निवेदन समेत नदिएको बताएकी छिन् । 
    गायत्रीका अनुसार आफूले ऋण लिनका लागि अर्को वित्तीय संस्थामा निवेदन दिएँ, सो संस्थाले तपाईको नाममा एक लाख सम्पदा लघुवित्त संस्थामा ऋण रहेको जानकारी दिएपछि आफू हक्क न बक्क भएको बताईन् । झण्डै एक वर्ष ६ महिनापछि आफ्नो नाउँमा ऋण रहेको बारे थाहा पाएपछि आफू र श्रीमान दुबैजना सम्पदा वित्तीय संस्थामा पुगेर बिस्तृत जानकारी लिएको उनको भनाई छ । 
    उनका श्रीमान् बिनोद कुमार दासका अनुसार सम्पदामा गएर ऋण सम्बन्धी आफूले सम्पूर्ण कागजातहरु हेर्दा ती कागजातहरु नै किर्र्ते रहेको बताए । उनका अनुसार संस्थाको सदस्यता फारममा गायत्रीको फोटोको सट्टामा अर्कै महिलासँगै आफ्नो फोटो टाँस गरि ऋण माग गरेको देखिएको छ ।
    त्यस्तै कर्जा निवेदन तथा स्वीकृत फारममा समूह पदाधिकारीहरुको सिफारिस भएको देखिएपनि सिफारिस गरिएको समूह अध्यक्ष राधा कुमारी दासले भने आफुले कर्जा फारममा हस्ताक्षर नगरेको दाबी गरिन् । उनले भनिन्, “गायत्री देवी दासको कर्जा फारममा मेरो हस्ताक्षर होइन, फर्जी हस्ताक्षर गरेको हुन सक्छ, मैले पनि अहिले आएर ऋण उठेको कुरा सुन्दैछु ।”        
    यस्तै वित्तीय संस्थाको तमसुक पत्रमा २०७९ माघ १८ गते किराना पसल व्यवसायका लागि गायत्री देवी दासको नाउँमा ऋण स्वीकृत भएको उल्लेख छ । २०७९ माघ २० गते तयार पारिएको तमसुक पत्रमा वित्तीय संस्थाका तर्फबाट लिखत तयार गर्नेमा कर्मचारी बिनय कुमार चौधरीकोे नाम रहेको छ । सो पत्रमा लगाइएको दायाँ, बाँया औठा छाप तथा हस्ताक्षर समेत किर्ते रहेको पीडित गायत्रीले दाबी गरिन् । 
    २०७९ साल माघ २० गते नै तत्कालिन सबैको लघुवित्तले रु. एक लाख गायत्री देवी दासको नाममा ऋण बनाई विभिन्न शिर्षकमा रु. ९७, वीमाको नाउँमा रु. ७५, सर्भिस चार्जमा एक हजार पाँच सय, सदस्यता वीमाको नाउँमा ६ सय ४० तथा २ सय ८८ सय कट्टा समेत गरेको ऋण स्टेटमेन्टमा उल्लेख छ । 
    बि.स. २०७९ माघ २० गते ऋण सम्बन्धी सबै प्रक्रिया पुरा गरि साधारण कर्जा उल्लेख गरेर रु. एक लाख गायत्रीको खातामा जम्मा भएको देखिन्छ । अचम्मको कुरा के हो भने कुनै पनि वित्तीय संस्थाले आर्थिक वर्षको मसान्तमा सबै ऋणीहरुलाई ब्याज तिर्न विभिन्न माध्यमबाट ताकेता गर्ने गर्छन् । तर, गायत्रीलाई हालसम्म त्यस्तो कुनै ताकेता आएको देखिन्न् । आ.ब. २०७९÷८० र २०८०÷८१ मा उक्त एक लाख रकमको ब्याजसमेत खाता जम्मा नभएको ऋण स्टेटमेन्टले देखाएको छ ।   
यसरी फँसिन फर्जी ऋणको चपेटामा गायत्री
    गायत्रीले पुरानो कुरा सम्झिदै भनिन्, “एक वर्ष अघि सोही बित्तीय संस्थाकी अर्को समूह अध्यक्ष पिंकी दासले बचत गरि आफ्नो बालबच्चाको भविष्य उज्वलका लागि संस्थामा आवद्ध हुन आग्रह गरेकी थिइन् । आफ्नो र श्रीमान दुबैजनाको नागरिकताको फोटोकपी र एक–एक थान फोटो मागेकी थिइन्, मैले उनलाई आफ्नो नागरिकताको फोटो कपी र आफ्नो श्रीमानको एक थान फोटो दिएको थिएँ ।” 
    केही समयपछि पिंकीसँग गायत्रीले नागरिकता र फोटो माग्दा आजभोली गर्दै टार्दै गएकी थिइन् । जब आफ्नो नाउँमा ऋण रहेको खुलासा भयो अनि गायत्रीले पिंकीलाई फर्जी काम किन गरेको भन्दै वडा प्रहरीमा निवेदन पनि दिइन् र विभिन्न पंचायतीसम्म गरिन् तर, पिंकीले आफूले केही नगरेको भन्दै पन्छिदै गइन् । 
    गत आ.ब. २०८०÷८१ मा सबैको लघुवित्त वित्तिय संस्था लि. र साधना लघुवित्त वित्तिय संस्था लि. एकीकरण पश्चात् हाल सम्पदा लघुवित्त वित्तिय संस्था लि. गठन भएको हो । 
    सम्पदा वित्तिय संस्था विष्णुपुर शाखाका प्रमुख बिटु सिंहको मोवाइलमा सम्पर्क गर्दा सुरुमा परिचयपात्र भएपछि गायत्री देवी दासको ऋण सम्बन्धमा जिज्ञासा राख्दै उनले भने, “म आज बिदामा छु, भोली शनिबार पर्सी कुरा गरौंला ।” भन्दै फोन राखे ।
    यस्तै सोही वित्तिय संस्थाका केन्द्रिय डिपुटि जेनरल म्यानेजर सिताराम पण्डितले पनि शाखा प्रमुख सिंहले दिएको जवाफ जस्तै प्रतिक्रिया दिए । उनले भने, “आइतबार म गायत्रीको ऋण सम्बन्धी विषयमा शाखासँग बुझेर खबर गरौंला ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट