News Category 2082/01/16
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”, पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड

नवीनकुमार गुप्ता
राजविराज, १६ बैशाख ।
सप्तरीको एक मात्र ऐतिहासिक पुस्तकालय ‘लेखनाथ आदर्श पुस्तकालय’ अहिले ईतिहासको पानामा सिमित भएको छ । राजविराज नगरपालिकाको स्वामित्वमा रहँदै आएको सो पुस्तकालय हाल राजविराज वडा नं. ७ स्थित तत्कालिन वन कार्यालय (हाल डिभिजन वन कार्यालय) को ठ्याक्क अगाडी पट्टी दुई तल्ले पक्की भवनको भुई तल्लामा अवस्थित थियो जुन अहिले सम्झनामा मात्र सिमित भएको छ ।
लामो समयदेखी जिर्ण भवनमै रहेको त्यो पुस्तकालय बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुने गर्दथ्यो, त्यो पनि एउटा कार्यालय सहयोगिको भरमा । सूचना केन्द्रको रुपमा विस्तार गरिएको पुस्तकालय अहिले ईतिहासको पानामा सिमित भईसकेको छ ।
पुस्तकालयमा त्यतिबेला विना सिपियु एक दर्जन मनिटर मात्रैको कम्प्युटर थियो । पुराना पुस्तकहरु धमिराले खाइसकेको थियो । त्यसलाई दराजमाथि खुल्ला रुपमा राखिएको थियो । व्यवस्थित रुपमा पुस्तक नराखिनाले पाठकहरुले सो पुस्तक वर्षौदेखि छुन समेत पाएका थिएनन् । दराजमाथि धुलैधुलाले पुरिएपछि पुस्तकको नाम समेत मेटिएको थियो । राणाकालदेखिकै पुस्तकहरु उपलब्ध रहेको पुस्तकालय अव्यवस्थित र अभिभावकविहीन हुँदा पाठकहरु समेत आउन छोडेका थिए ।
बि.स. २०४५ सालको भुकम्प पश्चात् पनि भवनको अवस्था ठीकठाकै थियो । तर, पछिल्लो पटक बि.स. २०७२ सालमा आएको विनाशकारी भुकम्पमा भवनको अवस्था विग्रियो । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दै, पर्खालहरुमा चिरा पर्न थाल्यो ।
पुस्तकालयको दुई तल्ले भवनको माथिल्लो तल्लामा अधिवक्ता (वकिल) हरुको ल–फर्म संचालनमा थियो । त्यस्तै भूई तल्लामा एक गैससको कार्यालय रहेको थियो भने सोही भवन वरिपरि रहेको झण्डै २० वटा टिनको छाना भएको कोठाहरुमा पनि विभिन्न ल–फर्म, चिया पसल, सेलुन, पत्रिका पसल, पत्रकिा कार्यालय लगायतलाई भाडामा लगाइएको थियो । ती सबै कोठाहरुको मासिक भाडा वापत रकम पुस्तकालयको नाममा छुट्टै जम्मा हुने गथ्र्यो ।
यसरी हेर्दा मुलुककै पुरानो पुस्तकालय मध्येका लेखनाथ आदर्श पुस्तकालयको अवस्था सो समयको राजविराज नगरपालिकाको अवस्था झैं भएको थियो । हुन त नगरपालिकाको अवस्था अझै पनि सुधार हुन सकेको छैन् । आन्तरिक द्वन्द, कर्मचारी र जनप्रतिनिधिहरुबीचको दुरी, समयमा योजना कार्यान्वयन नहुनु, नगरको विकासमा उत्तरदायी नबन्नु, फोहरमैला व्यवस्थापन, बिजुलीबत्ती, सडक, ढल लगायत अनेकौं समस्याले जुझ्दै आएको छ यो नगरपालिका । एक दशकअघि पुस्तकालय भवन पूर्ण रुपमा जिर्ण हुँदा समेत नरपालिकाले कुनै चासो देखाएको थिएनन् ।
गत आ.ब. २०७७÷७८ मा तत्कालिन राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको पालामा पुस्तकालय भवन भत्काएर नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । झण्डै तीन वर्षपछि नयाँ भवन निर्माण भयो । हाल ती नयाँ भवनमा राजविराज नगरपालिकाले खुल्ला टेण्डर प्रक्रियाबाट धरौटी रकमसहित मासिक रुपमा भाडा लगाएको छ । तर, पुस्तकालयको नाममा एउटा पनि कोठा अझै छुट्याइएको छैन् ।
वि.स. १९९९ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा आदर्श पुस्तकालय (लेखनाथ) स्थापना भएको हो । राजविराजमा कर्मचारीको लागि छुट्याइएको ८ विगहा जग्गामा स्वर्ण (तत्कालिन लंका) टोलमा स्थापना भएको थियो । पछि वि.सं. २०२१÷२२ सालमा तत्कालिन सूर्यप्रसाद श्रेष्ठ सहायक अंचलाधिश भएको बेलामा उनकै प्रयासमा आर्दश पुस्तकालयलाई लेखनाथ आदर्श पुस्तकालय नामाङकन गरि भवन निर्माण गराई उद्घाटन गरिएको थियो । उक्त पुस्तकालयलाई संचालन गर्न स्थानिय बद्री प्रसाद लुईटेललाई जिम्मा लगाइएको थियो । जसको लाइब्रेरियनमा हाल अवकाश प्राप्त मावि शिक्षक शिवराज भट्टले २०३५ सालदेखी निःशुल्क सेवा दिँदै आएका थिए । तर, पछि उक्त पुस्तकालय नेपाल स्काउटको जिम्मा लगाइएको थियो । र २०४९ सालसम्म पुस्तकालय स्काउटकै निगरानीमा संचालनमा रहेको थियो ।
यस्तै बि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै पुस्तकालय तत्कालिन राजविराज नगरपालिकाका मेयर जगरनाथ दासको पालासम्म राम्ररी नै संचालन भएको थियो । जुन पुस्तकालयमा विपी कोइराला, पुष्पलाल श्रेष्ठको टिप्पणीसहितको निरिक्षण पुस्तिका रहेको थियो । तर अहिले सो पुस्तकहरु कहाँ छन् सायदै उपलब्ध हुने कुरामा शंका छ ।
पछिल्लो पटक २०७९ सालमा स्थानियतहको निर्वाचन पछि सामाजिक सञ्जाल फेसबुकमा स्थानियहरुले पुस्तकालय सञ्चालनमा ल्याउनुपर्ने मागसहित अभियान नै चलाएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा भएपछि तत्कालिन राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवले पुस्तकालय सञ्चालनमा ल्याउने प्रतिक्रिया जनाएपनि अझै त्यो संचालनमा आउन सकेको छैन् ।
उनले २०७९ साल चैत १९ गते लेखनाथ आदर्श पुस्तकालय सम्बन्धी निर्णय सार्वजनिक गरेका थिए । जसमा पुस्तकालयको स्वामित्व नगरपालिकाको मातहतमा रहेको र हाल लेखनाथ आदर्श पुस्तकालय सञ्चालनमा नरहेको र पुन संचालन हुने प्रकृयामा रहेको जनाएका थिए ।
त्यस्तै पुस्तकालयको सम्पती त्यहा भएको भवन, सटर र कोठाहरु नगरपालिकाबाट नक्सा डिजाईन गरी भवन निर्माण गरेको भुई तल्ला आय आर्जनको लागी निर्माण गरिएको र पहिलो तल्ला पुस्तकालय भवन निर्माण गर्न योजना रहेको निर्णयमा उल्लेख छ ।
सोही निर्णयमा पुस्तकालयको जग्गा भवन लिजमा अथवा भाडामा नलगाएको तथा निर्माण भएको भवन कोठाहरु टेण्डर प्रकृया अनुसार भाडामा दिइने उल्लेख छ । पुस्तकालयको पुरानो भवन सन्दर्भमा नगरपालिकाले बहाल नलगाई पुस्तकालयले सेवा शुल्क वापत रकम लिएको जनाइएको छ ।
निर्णयमा “लेखनाथ आदर्श पुस्तकालयको पुरानो भवन २०७२ सालमा आएको विनासकारी भूकम्पले गर्दा भवन क्षतिग्रस्त भई जिर्ण अवस्थामा रहेको हुँदा नगरवासीको ज्यू ज्यान नै खतरामा रहेको देखिएको हुँदा तत्काल पुस्तकालय बन्द गरी भवन भत्काई नगरवासीको ज्यू ज्यान रक्षा हेतु र न.पा. को आय समेत कम भएको हुँदा पुन भवन निर्माण गरी भुई तल्ला न.पा. को आय आर्जनको लागी र पहिलो तल्ला श्री लेखनाथ आदर्श पुस्तकालयको लागी भवन निर्माण गर्ने उद्देश्यले गतका तत्कालिन जनप्रतिनिधीहरुले उक्त स्थानमा टेण्डर लगाई भवन निर्माण गर्ने भनिएकोमा सोही अनुसार कार्यालयले भवन निर्माण एवं व्यवस्थापन गरी पछि पहिलो तल्लामा पुस्तकालय निर्माण गर्ने योजना समेत रहेको ।” उल्लेख छ ।
यसरी हेर्दा राजविराज नगरपालिकाले पुस्तकालयको भवन रहेको जग्गामा आफ्नो आम्दानीको श्रोत बनाएर सटरहरु भाडामा लगाएको छ । त्यती मात्र नभएर विगतमा पुस्तकालयको भवनको कोठाहरुमा लगाइएको भाडा वापतको आम्दानी समेतको हिसाब किताब छैन् । त्यहा रहेको कम्प्युटरको लेखाजोखा पनि छैन् । पुस्तकालयको सम्पत्तिको नाममा रहेको ऐतिहासिक पुस्तकहरु पनि छैनन् । पुस्तकालयको आम्दानी पुस्तकालयकै, विकास, संरक्षण, सम्वद्र्धन तथा अन्य शिर्षकहरुसहित त्यहा खटिने कर्मचारीमा खर्च गरिने नगरपालिका श्रोतले जनाएको छ ।
यस विषयमा राजविराज नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ अध्यक्ष समेत रहेका जयनारायण मण्डलले कार्यपालिकाको बैठकमा लेखनाथ आदर्श पुस्तकालयको चर्चा समेत नभएको बताए । उनले भने, “आजसम्म कार्यपालिकाको बैठकमा कसैले पनि पुस्तकालयको पुर्नस्थापना तथा त्यसको हरहिसाब, सम्पत्ति, कम्प्युटर, पुस्तक लगायतको बारेमा कुनै जानकारी समेत दिएका छैनन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/17 अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
- 2082/01/17 अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
- 2082/01/17 उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
- 2082/01/17 उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
- 2082/01/17 उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
- 2082/01/16 राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”, पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड
- 2082/01/16 क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा
- 2082/01/16 आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता
- 2082/01/15 छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
- 2082/01/15 कारागारबाट कैदी फरार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ