News Category 2082/03/17

आधारभूत पत्रकारिता तालिम सम्पन्न

दैनिक समाचारदाता

आधारभूत पत्रकारिता तालिम सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
 
    सप्तरीको विष्णुपुर गाउँपालिकामा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
    ”नागरिक सचेतनाका लागि सञ्चार” मूल नाराका साथ असार ११ गते देखि सञ्चालन गरिएको तालिम मंगलबार सम्पन्न भएको हो ।
    तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले यस गाउँपालिकामा पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
    पालिकामा पत्रकार नहुँदा यहाँको विभिन्न समस्या र विकासका कामहरु मिडियामा कम आउने गरेको आवश्यकतालाई महसुस गरेर सबै वडाबाट सहभागि छनौट गरी तालिमा सहभागि गराईएको जानकारी दिए । सीपमूलक तालिम दिएर पालिकाका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य अनुरुप अगाडी बढेको प्रष्ट पार्दै उनले पत्रकारिता गरेर स्वरोजगारमा लाग्न सकिने विश्वास व्यक्त गरे ।
    उनले तालिमका सहभागिहरु सिकेको सीपलाई उपयोग गरेर सकारात्मक र नकारात्मक दुवै समाचार लेख्न आग्रह गरे । “तालिमलाई तालिममा मात्र सिमित नगर्नुस्, यस पालिकामा कृषि, सडक, सिंचाई, शिक्षा लगायतको क्षेत्रमा धेरै काम भएको छ । त्यसलाई सञ्चार माध्यम मार्फत उजागर गर्नुस्” अध्यक्ष यादवले भने ।
    आउने दिनमा यस पालिकाबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि हरेक किसिमको सहयोग र सपोर्ट गर्ने उनले प्रतिवद्धता जनाए । “सत्य तथ्यमा आधारित रहेर निष्पक्ष र स्वतन्त्र भएर पत्रकारिता गर्नुस्” सहभागिहरुलाई यादवले आग्रह गरे ।
    यस्तै विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले पत्रकार आचारसंहिताको पालना गरेर पत्रकारिता गर्न आग्रह गरे । आचारसंहिताको लक्ष्मण रेखा नाघेर पत्रकारिता गर्नेहरु जोखिमा पर्ने भएको हुँदा त्यस प्रति सचेत रहेर पत्रकारिता गर्नेहरुको स्तरवृद्धिका लागि नेपाल पत्रकार महासंघले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
    अभिव्यक्ति मिडिया प्रालिका अध्यक्ष एवं आमसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित समापन समारोहमा वडा नम्बर १ का वडाध्यक्ष बलराम यादव, वडा नम्बर ५ का वडाध्यक्ष जिवछ मंडल, वडा नम्बर ७ का वडाध्यक्ष लोचन साह र तालिमका प्रमुख प्रशिक्षक विनय कुमार लाल कर्णले सहभागिहरुलाई पत्रकारिता गरेर स्थानिय समस्या र विकासका कामहरु मिडियामा ल्याउन सुझाव दिए ।
    समापन समारोहमा प्रमुख अतिथि यादव सहितका अतिथिहरुले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे । यसैगरि आयोजक संस्थाका अध्यक्ष श्यामसुन्दर यादवले प्रमुख अतिथि सहित अतिथि र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस