News Category 2082/05/05

लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु

दैनिक समाचारदाता

लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    लालपूर्जा पाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका राजविराज नगरवासी पीडित संघर्ष समितीले बिहीबार चौथो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । 
    यसअघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले राजविराजस्थित गजेन्द्र चौकमा पत्रकार सम्मेलन गरी आन्दोलको कार्यक्रमबारे जानकारी दिएका हुन् ।
    पत्रकार सम्मेलनमा संघर्ष समितीका संयोजक इरसाद अन्सारीले नगरबासीले राखेको माग पुरा गराउन थप दबाव दिने उद्देश्यले चौथो चरणको आन्दोलन घोषणा गरिएको बताए । 
    उनले भदौ ७ गते शनिवार लाठी जुलुश र खबरदारीसभा, भदौ ९ गते सोमवार सिट्टी जुलुश, भदौ ११ गते बुधवार राजविराज नगरपालिका कार्यालयमा २ घण्टा धर्ना, भदौ १४ गते शनीवार मशाल जुलुश र भदौ १५ गते आईतवार राजविराज बजार बन्द तथा राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी दिए । 
    यसअघि तीन चरणको आन्दोलनको क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रमुखको उपस्थितीमा गत फागुन १८ गते भएको सहमती कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासीको तर्फबाट गठित संर्घष समितिले चौथो चरणको आन्दोलन गर्न बाध्य भएको संयोजक अन्सारीको भनाई छ । 
    पत्रकार सम्मेलनमा पुर्वमन्त्री एवं राजविराज नगरपालिकाका पुर्व मेयर अनिस अन्सारीले यस क्षेत्रबाट निर्वाचित जनप्रतिनीधी समेतले ब्लक र विटौरी जग्गाका लालपुर्जा उपलब्ध गराउन चासो नदेखाएको आरोप लगाउँदै राणा सरकारको पालामा नगरवासी संग पैसा लिएर वसाइएको शहर राजविराजमा पञ्चायती व्यवस्थामा समेत  नगरवासीले सहजता पुर्वक उपभोग र कारोवार गर्न पाएको सुविधा अहिले खोसिदा गणतन्त्रकै उपहास भएको बताए ।  
     राजविराज नगरपालिकाका पुर्व मेयर जगरनाथ दासले कोशी नदीको कटानबाट विस्थापित भएकाहरुलाई राजविराजमा ल्याएर पैसा लिएर वसोवासको व्यवस्था मिलाइएको भएपनि अहिले सम्म जग्गाको लालपुर्जा नदिनुको पछाडी नगरपालिका कै जिम्मेवार जनप्रतिनीधीको कमजोरी रहेको जिकीर गरे । 
    आन्दोलन परिचालन उपसमितीका संयोजक एवं वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरीले जनता सित पैसा लिएर पनि जग्गाको लालपुर्जा नदिनु जनता प्रति कै बेइमानी भएको भन्दै आक्रोश ब्यक्त गरे । 
    पत्रकार सम्मेलनमा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिवनारायण साह, जसपा सप्तरीका अध्यक्ष सत्यनारायण यादव, जनमत पार्टीका नगर अध्यक्ष प्रकाश चौधरी लगायतले पनि बोल्दै संघर्ष समितिले उठाएका माग प्रति एक्यवद्धता ब्यक्त गर्दै संघर्ष समितीले घोषणा गरेको आन्दोलन कार्यक्रम सफल बनाउन आ आफनो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
    बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ रहेका ५ हजार २ सय परिवार वर्षाै देखी लालपूर्जा पाउन सकेका छैनन । मालपोत कार्यालयबाट विगत ८ वर्ष देखी रोक्का प्रकृया तथा राजविराज नगरपालिका कार्यालयबाट नक्शापास लगायतका कार्य बन्द भएपछी स्थानीय समस्यामा परेको संघर्ष समितिले जनाएको छ ।  
    संघर्ष समितीले नगरका विटौरी र ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारलाई लालपूर्जा प्रदान गरिनु पर्ने, राजविराज वसर्पाकको संचालन, सीमानाका क्षेत्रमा विषादी परिक्षणका लागी क्वारेन्टाईनको व्यवस्था, लामो समयदेखी बन्द रहेको छोटी भन्सार कार्यालयहरुको संचालन, लामखुट्टे नियन्त्रणका लागी औषधी छर्कने व्यवस्था, हटियामा निर्माणाधिन कप्लेक्सको अविलम्ब निर्माण कार्य सकाएर व्यापारीलाई हस्तान्तरण लगायतका ८ बुंदे माग अघि सारेका छन ।
    झण्डै ६५ वर्ष देखी संघर्षरत बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवार अझै लालपूर्जा पाउने आस लगाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट