News Category 2082/09/30

डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्यकर्मीहरुले विभिन्न माग राख्दै अल्टिमेटम सहित मंगलबार प्रमुख स्वास्थ्य प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।
    स्वास्थ्य चौकीहरुमा औषधीको अभाव, कर्मचारीहरुको स्तरवृद्धि कार्यमा मनोमानी तथा केही दिन अघि गरिएको सामुहिक सरुवा लगायतका विषयमा असंतुष्टि प्रकट गर्दे प्रमुख प्रशासकीय अधिकृत विजय मंडललाई ज्ञापनपत्र बुझाएका हुन् ।
    सबै १० वटै स्वास्थ्यचौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा पालिका प्रमुखलाई दुई दिनको अल्टिमेटम सहित विभिन्न माग राखी ज्ञापनपत्र बुझाए । 
    प्रमुख प्रशासकीय अधिकृत मंडललाई सबै १० वटै स्वास्थ्य चौकीका प्रमुखहरुको हस्ताक्षर सहित बुझाइएको ज्ञापनपत्रमा आफुहरुले उठाएका माग दुई दिन भित्र सम्बोधन गर्न अल्टिमेटम दिइएको छ ।
    समयभित्र माग सम्बोधन नगरिए तेश्रोदिन देखि आन्दोलनका सशक्त कार्यक्रम घोषणा गरी अघि बढने उनीहरुले चेतावनी दिएका छन् ।
    स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुद्वारा बुझाइएको ज्ञापनपत्रमा चुनावको मुखमा दुःख दिने मनसायले पुस २१ गते एकैपटक सबै स्वास्थ्यचौकीका प्रमुखहरुको गरिएको सरुवा बदर गरिनुपर्ने, स्वास्थ्य चौकीहरुमा आवश्यक औषधीहरु तत्काल उपलब्ध गराउनुपर्ने तथा कर्मचारीको स्तरवृद्धि र मुल्यांकनमा गरिएको विभेद सच्याउनुपर्ने प्रमुख माग गरिएको हो । 
    स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकीहरुमा औषधीको चरम अभावका हुँदा सेवाग्राहीबाट अपमान र मानसिक तनाव खेप्नु परेको, स्वास्थ्य चौकी बन्द गर्ने अवस्था आएको तथा एकै पटक सबै स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीको सरुवा गरेर मनोवल गिराउने र दुःख दिने काम भएको भन्दै माघ २ गते देखि आन्दोलन चर्काउने समेत जनाएका छन् । 
    ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत मंडलले कानुन र विधि प्रक्रिया पुरा गरी सरुवा गरिएको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट