News Category 2083/01/27

पाँच दिने आईसीटी तालिम सम्पन्न

दैनिक समाचारदाता

पाँच दिने आईसीटी तालिम सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आईसीटी तालिम आइतबार सम्पन्न भएको छ । 
    पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन संकायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता थियो । 
    तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल शीट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
    क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।
    तालिममा प्रशिक्षकका रूपमा सहभागी रामप्रसाद खतिवडा र विजयलाल प्रधानले अहिलेको समयमा अध्ययन र अनुसन्धानलाई प्रविधिमैत्री बनाउन आईसीटी ज्ञान अपरिहार्य भइसकेको धारणा राखे ।
    समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुशीलकुमार कर्णले तालिमबाट प्राप्त ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे । 
    कार्यक्रममा प्राध्यापकहरू यसबन्त झा, रितनारायण साह, उमेश यादव, रामसफल यादव, अनिलकुमार मण्डल लगायतले तालिमले शैक्षिक तथा व्यावहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । वक्ताहरूले अनुसन्धानमुखी शिक्षा, डिजिटल सामग्री निर्माण तथा साइबर सुरक्षासम्बन्धी ज्ञान अहिलेको आवश्यकता भएको उल्लेख गरेका थिए ।
    सहभागी विद्यार्थीहरूले पनि तालिमबाट आफूहरूलाई अध्ययन, प्रस्तुतीकरण, अनुसन्धान तथा भविष्यको पेशागत जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् । विशेषगरी एआई तथा गुगलका विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगले अध्ययनलाई सहज र व्यवस्थित बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो ।
    क्याम्पसले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री तथा अनुसन्धानमुखी तालिमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट