News Category 2072/12/29

एकै दिन सप्तरीसहित पूर्वका चार जिल्लामा भएको आगलागीबाट करिब दुई करोडको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
एकै दिन सप्तरीसहित सुनसरी, उदयपुर र संखुवासभा जिल्लामा भएको आगलागीबाट करिब दुई करोडको क्षति भएको छ । 
सप्तरीको हरिहरपुरमा शनिबार भएको आगलागीमा १७ घर जलेर नष्ट भएको छ भने करिब ५० लाख बराबरको क्षति भएको छ ।
हरिहरपुर ३ निवासी बिन्देश्वर चौधरीको घरमा गहुँ दाउनी गर्ने क्रममा थ्रेसर मेशीनबाट निस्केको झिल्कोले सो आगलागि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
चौधरीको घरमा लागेको आगो सल्किएर नजिकै रहेको झल्टी चौधरी, बच्चा माली, विष्णुदेव विश्वकर्मा, शशि कुमार चौधरी, असर्फी सदा, बुदर सदा, भोला चौधरीका गरि १७ घर तथा गोठ समेत जलेका छन् । आगलागीका कारण घर तथा घरभित्र रहेको मालसामानहरु जल्दा करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
आगोबाट विन्देश्वर चौधरीको ४ घर, एक गोठ, दुई तोला सुन, चाँदी १०० तोला र गाई २, भैसीको पाडी एक गोरु २, खसी २ र नगद रु २५ हजार, झल्टी चौधरीको फुसको घर एक, सुन चाँदीको गरगहना भाडा बर्तन, बच्चा मालीको ३ घर, एक गोठ, सुन चाँदीको गरगहना भाडा बर्तन, एक गाई र एक बाछि, विष्णुदेव विश्वकर्माको तीन घर, सुन चाँदीको गरगहना भाडा बर्तन, एक गाई, एक बाछि, दुई खसि, शशि कुमार चौधरीको २ तले घर एक, सुन चाँदीको गरगहना भाडा बर्तन, असर्र्फी सदाको २ तले घर एक, फुसको घर एक, सुनचाँदीको गरगहना भाडा बर्तन, बुदर सदाको फुसको घर एक, अन्नपात, लत्ताकपडा, भाडा बर्तन र भोला चौधरीको फुसको गोठ एक गरि सो बराबरको क्षति भएको जिल्ला प्रैहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता आगो नियन्त्रण गर्ने क्रममा स्थानीय बिन्देश्वर चौधरी र निजको ३० वर्षिय छोरा सुशिल चौधरीको ढाडमा आगोले पोलेर सामान्य घाइते भएकाले स्थानीय पकरी मेडिकलमा लगि उपचार भइरहेको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, र दमकलको प्रयासमा नियन्त्रणमा आएको थियो ।
यस्तै शनिबारै सुनसरीको भोक्राहा गाविसमा भीषण आगलागी भएको छ । आगलागीबाट ४५ वटा घरहरु जलेका छन भने करिब एक करोड पचास लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।
भोक्राहा गाविस ९ बस्ने सफारुदिन मन्सुरीको घरबाट शुरु भएको आगो गाउँ भरि नै सल्किएको थियो । आगलागीबाट मन्सुरीसहित हजिज जलिल अन्सारी, हाजी अलाउदिन अन्सारी, सफारुदिन मन्सुरी, तफजुल अन्सारी, साहिम अन्सारी, समिम अन्सारी, हफाज अन्सारी, खालिद अन्सारी, खालिद सैदुल्लाह, जियाउदिन अन्सारी, जैनुदिन अन्सारी, अविद हुसैन, सफारुदिन अन्सारी, सबिर अन्सारी, सहिदा खातुन, सगिर अन्सारी, सरफराज अन्सारी, रहमद अन्सारी, आजाद अन्सारी रिजवान अन्सारी र नुरुदिन अन्सारीसहितको घर, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडासमेत सम्पुर्ण सामान जलेर नष्ट भएको छ । 
आगोमा परी सफारुदिन मन्सुरीको घरभित्र दराजमा राखिएको नगद दश लाख पचार हजार समेत जलेको छ भने सम्पुर्ण क्षतीको प्रारम्भिक अनुमान एक करोड पचास हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै सुनसरीको राजगञ्जसिनुवारी बस्ने हरीलाल मेहताको भान्सा कोठामा साँझ साढे ५ बजे अचानक आगलागी हुँदा मेहतासहित छिमेकी जगत मेहता, दुखीलाल मेहता र गंगाई मेहताको चार घर तथा गोठ जलेर अन्दाजी १० लाख बराबरको क्षती भएको छ ।
यस्तै घुस्कीहाट ७ स्थित साहिन पब्लिक बोर्डिङ स्कुलमा आगलागीबाट बिधार्थी पढ्ने डेक्स बेन्च समेत जलेर अन्दाजी १४ लाख ४० हजार बराबरको क्षती भएको छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र वारुणयन्त्रको प्रयासबाट सहयोगमा नियन्त्रणमा आएको थियो ।
यसैबीच भोक्राहा अग्निपीडितहरुलाई मुस्लिम व्यापार मञ्च सुनसरीले राहत वितरण गरेको छ ।
आगलागीका कारण घर जलेर नष्ट भएको र खाद्यान्नसमेत जलेकाले भोकभोकै खुल्ला अकाशमुनि बसेका भोक्राहा गाविसका अग्निपीडितलाई मञ्चले राहत सामग्री वितरण गरेको हो । 
शनिबार नै मञ्चले पीडितलाई प्रतिपरिवार पाँच किलो भुजा, एक थान त्रिपाल, खानेतेल, खानेपानीलगायतका सामग्री वितरण गरेको मञ्चका सुनसरी सचिव हजरत हुसेनले जानकारी दिनुभयो । 
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत अग्निपीडितलाई राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । प्रशासनले अग्निपीडितलाई तत्काल प्रतिपरिवार रु पाँच हजारका दरले राहतस्वरूप रकम प्रदात गर्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले जानकारी दिनुभयो । 
यस्तै संखुवासभा र उदयपुरमा पनि शनिबारै आगलागिबाट पाँच घर जल्दा अन्दाजी ४० लाख  बराबरको क्षती भएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ७ बस्ने कर्ण बहादुर राईको घरमा अचानक बिधुत सर्ट भई आगलागी भएको थियो। आगलागीबाट राईको ढुंगा माटोले बनेको तिन तले घर, घरभित्र रहेको सम्पूर्ण मालसामान तथा ३१ वटा कुखुरा जलेर मरेको छ। आगलागीका कारण राईको अन्दाजी ११ लाख ७० हजार बराबरको क्षती भएको अस्थाई प्रहरी पोष्ट मानेभंज्याङले जनाएको छ ।
त्यसैगरी उदयपुरको खाबु ९ स्थित जंगलमा लागेको आगो हावाहुरीका कारण सल्किंदा नजिकै रहेको सिंह बहादुर मगरको तिन वटा तथा हिरा बहादुर मगरको एउटासहित चार घर जलेको छ । आगलागीबाट उनीहरुको ढुङगा माटोले बनेको घर तथा घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जल्दा अन्दाजी २८ लाख बराबरको क्षती भएको बताइएको छ । 
आगोले मगरको घरभित्र राखेको चालीस हजार नगद, तिन तोला सुन, पाँच तोला चाँदी र ९ वटा चौपायासमेत जलेको पिडितले बताए। आगलागी स्थानीयवासी, प्रहरी तथा दमकलको प्रयासमा नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट