News Category 2073/06/28

कंकालिनी मन्दिरको इतिहासमै यस वर्ष सबै भन्दा बढी राँगाको बली प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
मुलुकको प्रसिद्ध शक्तिपीठ मध्ये सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यस वर्ष ५ सय ५३ राँगाको बलि प्रदान गरिएको छ । यो संख्या अहिलेसम्मको उच्च रहेको छ ।
बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको कंकालिनी मन्दिरमा यस वर्ष दशैंको नवमीका दिन उक्त संख्यामा राँगाको बली प्रदान गरिएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो । गत वर्ष २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो भने २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
यस्तै सोही मन्दिरमा करिब १३ हजारको संख्यामा बोका तथा अन्य पशुपंक्षिको बलि समेत प्रदान भएको छ । यस वर्ष कंकालनी मन्दिरमा स्थानिय स्वयमसेवकहरुको मद्दतले शान्ति सुरक्षा प्रदान गरिएको थियो ।   
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’को दिन राँगाको बली दिने गर्छन् । 
यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् । राँगा बलि प्रदानमा नेपालमै गढिमाई पछिको ठुलो संख्यामा यसै मन्दिरमा राँगाको बलि प्रदान समेत हुने गरेको छ ।
यसैगरि मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपिठमा यस वर्ष ५ हजार ६ सय खसी बोकाको बलि प्रदान भएको छ । गत वर्षको तुलनामा यस वर्ष छिन्नमस्ता शक्तिपिठमा ५ हजार ६ सय खसी बोकाको बलि प्रदना भएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादव रामबाबुले जानकारी दिनुभयो । 
उहाँका अनुसार गत्त वर्ष मधेशमा जारी मधेश आन्दोलनका कारणले श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएपनि यस वर्ष माताको दरवारमा करिब १५ लाखको हाराहारीमा श्रद्धालु भक्तजनहरुले दर्शन एवं पुजाआजा गरेको जानकारी दिनुभयो ।
यस्तैं मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुका लागि व्यापक मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गर्नुका साथै मन्दिर परिसरमा ८ वटा सिसी क्यामरा समेत जडान गरेको थियो । 
यता राष्ट्रिय शान्ति मानव कल्याणका लागि छिन्नमस्ता सखडेश्वरी शक्तिपिठ सखडामा अगामी चैत्र १६ गतेदेखि नेपालमैं पहिलो पटक श्री लक्षचण्डी रुद्र महायज्ञको आयोजना हुने तथा सो भएपछि अहिलेको तुलनामा चौगुण माताको दरवारका श्रद्धालु भक्तजनहरु दर्शन तथा पुजाआजाको लागि आउने अनुमान मन्दिरका पिठाधिश एवं लक्षचण्डी रुद्र महायज्ञ मुल समितिका संयोजक महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो महायज्ञ नेपाल र छिमेकी भारत बिहारमैं पहिलो पटक सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपिठमा आयोजना हुन लागेको जानकारी दिनुहुँदैं त्यसका लागि नेपालको ७५ जिल्ला मध्ये ३५ वटा जिल्लामा रथयात्रा प्रस्थान गरिसकेको जानकारी दिनुभयो । 
बडा दशैं अवधिभरी सो रथयात्रा काठमाण्डौं स्थित हुकेश्वरी शक्तिपिठमा रहेको तथा पुर्णिमा पछि पुन बाँकी जिल्लाहरुमा रहेका मठ मन्दिर तथा शक्तिपिठहरुमा पुगेर महायज्ञलाई सफल पार्नका  लागि देवी देउतासँग प्राथर्ना र आर्शिवाद लिने पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आएको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट