News Category 2073/07/18

१८ वर्षपछि भारतीय राष्ट्रपतिद्वारा नेपाल भ्रमण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, १७ कात्तिक । 
नेपालको तीन दिने राजकीय भ्रमणमा आइतबारदेखी रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको छ ।  
भारतीय राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण १८ वर्ष पछि हो । यसअघि बि. सं. २०५५ सालमा भारतका तत्कालिन राष्ट्रपति केआर नारायणले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । 
राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको हो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुहुन्थ्यो । 
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गर्नुभएका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । 
भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुभएको थियो । 
राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका थिए । 
सो भ्रमण टोलीमा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित हुनुहुन्छ । 
प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत हुनुहुन्छ । 
परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
यस्तै काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । 
भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो यहाँ आउँदै हुनुहुन्छ । 
महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिनुभयो । 
राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ । 
भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई दृष्टिगत गरी भ्रमणको सम्भावित मार्गमा महानगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताउनुभयो । 
भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार पोखरा र जनकपुरस्थित जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट