News Category 2073/08/23

डा. गोविन्द केसीको नेतृत्वमा उच्चस्तरीय समिति निर्माणको माग राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री डा. भट्टराईबाट चासो व्यक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले डा. गोविन्द केसीको नेतृत्वमा एक उच्चस्तरीय समिति निर्माण हुनु पर्ने माग अघि सार्नु भएको छ । 
बुधबार सामाजिक संजाल मार्फत उहाँले प्रेस विज्ञप्ति जारि गर्दै उक्त माग गर्नुभएको हो । जारि विज्ञप्तिमा केही संचार माध्यमहरूमा स्वास्थ्य मन्त्रीसँग मात्र कुरा गर्न चाहेको समाचारहरूप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ । 
विज्ञप्तिमा भनिएको छ, “गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा देखिएका अनियमितता र समस्याहरूसंगै यो अस्पतालको बारेमा ठोस दिर्घकालिन योजना र आधार निर्माणका लागि स्वच्छ छवि भएका जस्तै डा. गोविंद केसी, डा. सुंदरमणी दिक्षीत, डा. रामकेवल साह जस्ता व्यक्तित्वहरूको नेतृत्वमा एक उच्चस्तरीय समितिको निर्माण हुनु पर्दछ ।”
यसैबीच राष्ट्रपति विद्या देवी भण्डारीले समेत तिवारीको अनसनप्रति चासो व्यक्त गर्नुभएको छ ।  यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा डा. गोबिन्द केसीको अनसन सकिए पनि सप्तरीमा विकास तिवारीले अस्पताल सुधारको माग गर्दै बस्नु भएको अनसन प्रति सरकार गम्भिर हुनुपर्ने बताउनु भएको छ । 
यसअघि उहाँको समर्थनमा मंगलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उहाँका माग अविलम्ब सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरेका थिए । 
अस्पताल बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने माग रहेको छ । 
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । 
यस्तै सरकारले उपलब्ध गराउने औषधीहरुको सूची अस्पतालमा टाँगिनुपर्ने, चिकित्सक, प्राविधिक एवं अन्य कर्मचारीहरुको दैनिक ड्युटी तालिका सार्वजनिक रुपमा जडान गर्नुपर्ने, आर्थिक वर्ष २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपुर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ मा उपलब्ध विकास र साधारण शिर्षकमा प्राप्त बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आयव्यय विवरण उपलब्ध गराउनुपर्ने माग गरिएको छ । 
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट