News Category 2073/09/29

मातृभाषामा पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
“मातृभाषामे शिक्षाः एक डेग” विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । 
मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका देवेन्द्र मिश्रले राज्यले मातृभाषामा पठनपाठन गर्ने प्रतिवद्धता (–स्जनाइसक्दा समेत हालसम्म पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले मल्लकालीन समय मैथिली भाषाकालागि स्वर्णिम समय भएको चर्चा गर्दै शाहवंशीय शासनकालको प्रारम्भ भएपछि मैथिली भाषामाथि दमनको शुरुवात भएको उल्लेख गर्नुभयो । 
राज्यले नै निर्दिष्ट गरेको विषयलाई कार्यान्वयन नगरेकोमा आपत्ति जनाउँदै उहाँले मातृभाषामा पठन–पाठन कार्यलाई कार्यान्वयनमा ल्याउन सम्पूर्ण मातृभाषी जागरुक भई सशक्त भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा दहेजमुक्त मिथिलाका अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीणनारायण चौधरीले मातृभाषामा पठन–पाठन नभएसम्म मैथिली भाषाको विकास नहुने बताउनुभयो । 
‘मिथिलाक अनुपम डेग’की अध्यक्ष आरती झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष जनआनन्द मिश्र, मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष तथा राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झा, डा. अखिलेश झा, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, प्रा. अशोक झा, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष समेत रहेकी तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झा, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. प्रयाग यादव, साहित्यकार ब्रजमोहन झा, महोत्तरीका मैथिली अभियानी प्रशान्त सविता अर्जुन झा, मैथिलीकर्मी संजोग देवलगायतले मातृभाषामा पठन–पाठन हुनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रवीण नारायण चौधरीले कक्षा १० सम्मका छात्रछात्राले मैथिलीमा कथा, कविता, निबन्ध आदि लेखेमा मिथिलाक अनुपम डेगले मूल्यांकन गरेर जानकारी प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । सोही अन्तरक्रियाले ७ बुँदे घोषणा–पत्र समेत जारी गरेको छ । 

प्रतिकृया दिनुहोस