News Category 2074/11/14

राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णय बिरुद्ध मविव क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको बिरोध गर्दै आइतबारदेखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । 
सरकारी निर्णयको बिरोध गर्दै माघ २१ गतेदेखी विभिन्न चरणको आन्दोलन गर्दै आइरहेका क्याम्पसका प्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले सो तालाबन्दी गरेका हुन् ।
क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन माँग गर्दै विभिन्न चरणबद्ध आन्दोलन गर्दा पनि माँगप्रति सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै बाध्य भई तालाबन्दी गर्नु परेको संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले जानकारी दिए । 
उनले संसद विघटनकै दिन नेपाल सरकारले आफूहरुसँग कुनै सुझाव नलिई मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभेको बिरोधमा आन्दोलनमा उत्रेको बताए । 
नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा राजविराजसहित जनकपुरको राराव क्याम्पस र सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस समेत गाभिएको छ । तर, अहिले तीनै क्याम्पस राजर्षि जनक विश्वविद्यालयमा नरहने भन्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।  
त्यस्तै राराब क्याम्पस जनकपुरका इकाई समितिका सचिव रामह्दय मण्डलले नवस्थापित विश्वविद्यालयमा नयाँ क्याम्पसहरुलाई गाभेर नयाँ युवाहरुलाई रोजगारीका लागि मौका दिनुपर्ने सुझाव दिँदै त्रिविको आंगिक क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभे राराब क्याम्पसका कर्मचारी, प्राध्यापकहरु समेत आन्दोलनमा उत्रने चेतावनी दिए ।  
त्यस्तै सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष कपिलदेव यादवले नयाँ विश्वविद्यालय खुलेकोमा कुनै आपत्ति नभएको जनाउँदै त्रिविको तीन वटा आंगिक क्याम्पसलाई गलत मनसायले ऐन पास गरेर गाभ्ने प्रवृति गलत भएको बताए । उनले जबरजस्ति तीन वटा क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभ्न खोजिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यसैबीच मविव क्याम्पस राजविराज कर्मचारी संघका उपाध्यक्ष रामसेवक ठाकुरले नेपाल सरकारले गैरजिम्मेवारी तरीकाले त्रिविको आंगिक क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्न खोजेको भन्दै तालाबन्दी गरिएको बताए ।
यसअघि हातमा कालोपट्टी बाँधेर कामकाज, कलम बन्द, कक्षा स्थगितलगायतका आन्दोलनका कार्यक्रम गर्दै आइतबार तालाबन्दी गरिएको छ । क्याम्पस गाभ्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेतलाई ज्ञापन पत्र बु्झाइ सकिएको जनाइएको छ । मविव क्याम्पस राजविराजमा स्थायी, निजि, करार र आंशिक गरि झण्डै १ सय ५० कर्मचारी कार्यरत रहेका छन् भने  तालाबन्दीका कारण अबको केही दिनमा हुने विभिन्न तहको परीक्षामा सहभागि हुने १ हजार ७ सय विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । 

प्रतिकृया दिनुहोस