News Category 2075/01/30

नेपाललाई विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गसँग जोडिने ः भारतीय प्रम मोदी, जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड

दैनिक समाचारदाता

जनकपुर÷भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नु पर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा शुक्रबार जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 
उनले नेपालको विकासमा क्षेत्रीय विकासको सूत्र जोडिएको हुँदा अब नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्दै विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नु पर्ने बताए ।
अहिले जयनगर–जनकपुर रेल्वेको काम तीव्र गतिमा भइरहेको र केही दिनमै उक्त रेल सेवा सञ्चालन हुने बताउँदै मोदीले भने, “रक्सौलबाट काठमाडौँका लागि रेल सेवासमेत सञ्चालन गरिनेछ ।” साथै उनले मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने कार्यसमेत भइरहेको बताए ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणासमेत गर्दै प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर परियोजना छनोट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो १०० करोड भारतीय जनताको तर्फबाट माता जानकीलाई समर्पण रहेको छ ।”
यसैबीच उनले नेपालीहरूको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताए । उनले भने, “नेपाल र भारतको आत्मियता यो क्षेत्र (मिथिला)को सांस्कृतिक आस्थाले सिञ्चित रहेको छ ।”
मोदीले विश्वमा मिथिला सांस्कृतिको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरू दुवै देशमा समान रूपले महत्व राखेको बताए । उनले मिथिला चित्रकला विश्वमा प्रसिद्ध रहेको बताउँदै सो कलामा प्रस्तुत गरिएको परिवेश महिला सशक्तीकरण तथा जलवायु परिवर्तन र पर्यावरणीय सचेतनालाई परिलक्षित गरिरहेको बताए ।
नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै मोदीले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।
उनले राम जानकीको सम्बन्ध बिना अयोध्या अधुरो रहेको बताउँदै नेपाल–भारतका जनताको सुख र चुनौती तथा सपना र संकल्प पनि एउटै भएकाले दुवै देश मिलेर यसको सामना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रूपमा भएको बताउँदै धार्मिक यात्राका क्रममा रामेश्वरम्बाट पशुपतिनाथ आउनुपर्ने र लुम्बनीबाट बोधगया तथा अवधबाट जनकपुर पुग्नुपर्ने परम्पराअनुसार आफू पनि तीर्थ यात्रीका रूपमा आज जनकपुर आइपुगेको हुँ भने ।
मोदीले नेपाल अध्यात्म दर्शनको केन्द्र रहेको बताउँदै भने, “यहाँका सबैथोक आफ्नै जस्तो छ, सबै आफन्त जस्तै छन् ।” उनले नेपाल–भारत दुवै देशको नारी चेतनाका लागि माता सीता गंगोत्रीका रूपमा रहेको बताउँदै काठमाडौँदेखि कन्याकुमारीसम्म माता सीताको चरित्र प्रेरणादायी रहेको उल्लेख गरे ।
मोदीले भारत चाँडै नै विश्वको तेस्रो अर्थव्यवस्थाको देश हुन गइरहेकाले जसरी भारत आर्थिक रूपले समृद्ध हुन्छ, त्यसैगरी नेपालको विकासको गति पनि तीव्र हुने बताए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न भएको संघीय, प्रान्तीय र स्थानीय निर्वाचन यस क्षेत्रमै उदाहरणीय भएको समेत बताए ।
उनले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा भारत सरकार उन्मुख रहेको बताउँदै माता सीता र भगवान् रामले पाइला टेकेका धार्मिक स्थललाई समेटेर यसको विकास गर्न भारतीय सरकार अग्रसर रहेको बताए । उनले बुद्ध सर्किट र जैन सर्किटको विकासका लागि पनि आपूm क्रियाशील रहेको बताए ।
जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उहाँले शुरुमा मैथिलीमा र त्यसपछि नेपाल र हिन्दीमा सम्बोधन गरेका थिए ।
अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभई भविश्यमुखी भएर अघि बढ्न चाहेको बताए । उनले जनकपुर शहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको बताए ।
नेपाल र भारतको सम्बन्धको आधार भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताए । उनले नेपाल र भारतले एक अर्काको सामिप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताए ।
समारोहमा मिथिला नाट्यकला परिषद्का कलाकारले विभिन्न किसिमको सांस्कृतिक नृत्य तथा स्वागत गान प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस