News Category 2075/04/23

चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चक्काजाम र प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 
चिकित्सकको लापारवाहीले एक व्यक्तिको मृत्यु भएको भन्दै मंगलबार स्थानियहरुले सप्तरीको कंचनरुप नगरपालिका ११ बक्साहास्थित राजमार्ग अवरुद्ध पारेका छन् । 
जिल्लाको कृष्णसवरण गाउँपालिका १ घोगिदह निवासी ४५ वर्षिय थिर चौधरीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै चक्काजाम गरिएको हो । 
मृतकका भाई रन्जित चौधरीका अनुसार मंगलबार बिहान दाई थिर चौधरी कंचनपुरस्थित मालपोत कार्यालय अगाडी रहेको पसल खोल्न हिडेका थिए । उनी जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा खुट्टा र गालामा सामान्य चोट लागेको थियो । घाइते अवस्थामै थिर मोटसाइकल चढी नजिकै रहेको धर्मेश्वर अस्पतालमा उपचार गराउन गएको उनले बताए । दाई थिरले घाइते अवस्थामै आफ्ना श्रीमतीलाई दुर्घटना बारे फोन मार्फत जानकारी गराएपछि श्रीमतीसहित आफू पनि अस्पताल पुगेर भेटेपछि दाईको अवस्था गम्भिर भइसको उनले बताए । 
उने भने, “सोही अस्पतालका चिकित्सकद्वय सतिश मेहताले चार वटा र दिलिप कर्णले २ वटा सुई लगाए । पछि थप एकवटा सुई चिकित्सक कर्णले लगाएपछि दाईको मुखबाट ¥याल चुहिएर अवस्था गम्भिर बन्दै गयो ।”
भाई रन्जितका अनुसार अवस्था गम्भिर बन्दै जाँदा चिकित्सक दिलिप कर्णले आफै एम्बुलेन्स बोलाई दाईलाई राखि थप उपचारका लागि धरान पठाएको जनाए । तर, एम्बुलेन्स केही किलोमिटर जाँदै गर्दा उनको मृत्यु भएपछि पुनः एम्बुलेन्स सोही अस्पताल आइपुगेको उनले जानकारी दिए । 
सोही क्रममा चिकित्सकद्वयसँग कुन सुई लगाएको भनेर सोध्दा निन्द्राको सुई लगाएको जवाफ दिएको र अस्पताल परिसरमा प्रहरी परिचालन भइसकेको उनले बताए ।   
यता मृत्युको खबर बाहिर आउन थालेपछि आफन्तजनले अस्पताल परिसरमै नाराबाजी गर्दै चिकित्सकको लापरवाहीका कारण मत्यु भएको भन्दै चिकित्सकलाई कारवाहीको माँग गरेका छन् । 
यसैबीच प्रहरीले शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पठाउन दबाब दिए पनि परिवारजनले शवलाई पोष्टमार्टमका लागि धरान लग्नु पर्ने अडान लिएको स्थानिय राजपाका नेता माधव चौधरीले जानकारी दिए । तर, प्रहरीले बलजफ्ती शवलाई राजविराजस्थित अंचल अस्पतालम नै लगेको तर, परिवारजनले पोष्टमार्टमका लागि आवश्यक कागजातमा कुनै हस्ताक्षर नगरेको उनले बताए । हाल शव अंचल अस्पतालमै रहेको छ । 
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।  

प्रतिकृया दिनुहोस