News Category 2075/05/08

नगरको ६ स्थानमा सार्वजनिक “युरिनल” निर्माण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नगर स्वस्थ्य र सफा राख्ने लक्ष्य लिएको राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र विभिन्न स्थानहरुमा युरिनल (पिसाब घर) निर्माण गरेको छ । 
सप्तरी जिल्ला खुल्ला दिसा मुक्त घोषणा भइसकेको अवस्थामा राजविराज नगरपालिकामा सर्वसाधारणहरुलाई पिसाब फेर्न निकै कठिनाई भइरहेको अवस्थामा नगरपालिकाले आफ्नो लक्ष्य अनुसार सो कदम चालेको हो । 
नगर क्षेत्र भित्र युरिनल निर्माणका लागि आ.ब. २०७४÷७५ को नगर सभाबाट रु. ५ लाख रकम पारित भएको योजना अन्तरगत हाल नगरको विभिन्न ६ स्थानमा युरिनल निर्माण गरि नगर स्वास्थ्य र सफा राख्ने लक्ष्य अन्तरगत पहिलो कदम चालेको नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बताएका छन् । 
उनले गत आ.ब. मा पारित योजनालाई नै चालु आ.ब. २०७५÷७६ मा सारेर युरिनल निर्माण गरेको जानकारी दिए । 
राजविराजस्थित रंगशालाको पश्चिमतर्फ गेटको छेउमा, पश्चिम बस स्टेण्ड छेउमा, नगरपालिकाको उत्तरतर्फ सडकखण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्र अगाडी पश्चिमतर्फ सडकखण्डमा, पविमाविको खेल मैदानमा र कुनौली मोडस्थित अंचल अस्पतालको कम्पाउण्ड छेउमा गरि ६ स्थानमा सर्वसाधारणका लायि यूरिनल निर्माण गरिएको नगरपालिकाका सवइन्जिनियर सत्यजिव कुमार सिंहले जानकारी दिए । 
सवइन्जिनियर सिंहले नगरको ८ सार्वजनिक स्थानमा युरिनल निर्माण गर्ने लक्ष्य राखे पनि दुई स्थानमा जग्गा अभावमा निर्माण हुन नसकेको बताए । उनले राजविराजको मुटु मानिने गजेन्द्र चौक र दशन चौकमा सार्वजनिक जग्गाको अभावमा युरिनल निर्माण हुन नसकेको बताउँदै ती दुई स्थानमा युरिनल निर्माणका लागि प्रयास भइरहेको जनाए । 
टायल्स लगाएर निर्माण गरिएको युरिनलको पाइप नाला, ढलमा कनेक्सन नगरिएर माटो खनेर रिंग हालेर तल नै सुक्ने व्यवस्था गरिएकोले पनि ती दुई स्थानमा जग्गा अभाव भएको उनले बताए ।  
यस्तै नगरमा सर्वसाधारणहरुको बढी चाप हुने स्थानमा युरिनल निर्माण गर्ने लक्ष्य रहेको बताउँदै सवइन्जिनियर सिंहले निर्माण भएका युरिनललाई अझ व्यवस्थित र सुलभ बनाउन काम बाँकी नै रहेको उल्लेख गरे । 
निर्माण गरिएको युरिनलहरुमा पानीको व्यवस्थाका लागि पानी ट्याङ्किको निर्माण, सरसफाई, हेरचार लगायतका कामहरु आउँदो दिनहरुमा गरिने गर्दै जाने प्रतिबद्धता जनाए । 
विगत दुई दशकदेखी जनप्रतिनिधि बिहीन रहेको नगरपालिकाले सरसफाई अन्तरगत युरिनल निर्माण गरेपछि सर्वसाधारणलाई पिसाब फेर्न सजिलो त भएको छ तर, यो निर्माण गरिएको युरिनल पुरुषहरुका लागि मात्र उपयोग हुने देखिन्छ । 
यता गैर सरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले राजविराज नगरपालिकाले सरसफाईलाई मध्यनजर गर्दै सर्वसाधारणको समस्या बुझेर निर्माण गरेको युरिनल सहनिय भएको बताए । तर, महिलाहरुका लागि समेत बन्द युरिनल निर्माण गर्नतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने सुझाव समेत दिए । 
राजविराज नगर क्षेत्र भित्र हाल पश्चिम बस स्टेण्ड, पुरानो माछा हटिया छेउमा, जिल्ला अदालत अगाडी, सहरी स्वास्थ्य क्लिनिक छेउमा र नगरपालिकाको दक्षिणतर्फ गरि पाँच स्थानमा सार्वजनिक शौचालय संचालनमा रहेको छ । तर, ती पाँचै शौचालयलाई नगरपालिकाले वार्षिक रुपमा ठेक्का लगाउने गरेको छ । 

प्रतिकृया दिनुहोस