News Category 2075/06/13

एकसाथ ५० हजार रोपेर हरित प्रदेश अभियानको प्रारम्भ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
प्रदेश २ मा शुक्रबार एकसाथ ५० हजार रोपेर हरित प्रदेश अभियानको प्रारम्भ गरिएको छ । 
प्रदेश २ को आठ जिल्लामा शुक्रबार विहानै मुख्यमन्त्री तथा मन्त्रीहरुको सहभागितामा विभिन्न प्रजातिका ५० हजार विरुवा रोपेर अभियानको शुरुवात गरिएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा रहेको हरित प्रदेशको योजना कार्यान्वयन गर्न शुक्रबार प्रत्येक जिल्लामा ७ देखि ८ हजार विरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ ।
पर्साको पर्सागढीस्थित रहेको सबैया साझेदारी वनमा भएको वृक्षारोपन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा सहभागि भएका थिए । 
यस्तै बाराको फेटा गाउँपालिकास्थित रहेको खैतारीमाई सामुदायिक वनमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, रौतहटको चन्द्रपुर नगरपालिका ६ स्थित रहेको दाबरी रंगपुर साझेदारी वनमा भएको वृक्षा रोपनमा भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव सहभागि थिए । 
सप्तरीको सुरुंगा नगरपालिकामा भएको वृक्षारोपन कार्यक्रममा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, सर्लाहीको लालबन्दी नगरपालिकामा भएको वृक्षारोपनमा पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, महोत्तरीको मठिहानीमामा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, धनुषाको धनुषाधाम नगरपालिकास्थित रहेको धनुषाधाम संरक्षित बनमा भएको वृक्षारोपनमा आन्त्रिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सिरहाको लहान गरपालिका ३ स्थित रहेको बलान खोला सन्यासी सार्वजनिक वनमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको सहभागि भएका थिए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आठवटै जिल्लामा भएको वृक्षारोपन कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सांसद, मन्त्रालयका मुख्य सचिव, सचिव, स्थानीय जनप्रतिनिधी, कर्मचारी लागयतको सहभागिता रहेको थियो । 
जिल्ला वन कार्यालयसंग रहेको विरुवाहरु रोपिएको र आफ्नो निजी तथा पर्ती जग्गामा रोप्नको लागि सर्वसाधारण जनतालाई समेत वितरण गरको मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको प्रदेश २ मन्त्री परिषद बैठकले असोजले हरित प्रदेश योजना कार्यान्वयन गर्न असोज १२ गते आठ वटै जिल्लामा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित नहर, हरित खोला किनारासहितका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । हरित प्रदेश अभियानले प्रदेशमा सञ्चालन भइरहेको मुख्यमन्त्री स्वच्छता अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यस प्रदेशमा २ लाख ६३ हजार हेक्टर वन क्षेत्र तथा ५४ लाख ४ हजार जनसङ्ख्या रहेको छ । 
निरन्तरको वन विनाश र त्यसबाट सिर्जित विभिन्न समस्याका कारण कृषि क्षेत्रको उत्पादकत्वमा प्रतिकूल असर परिरहेको र सुख्खापनमा वृद्धि, बाढीले बालूवा थुपारेको क्षेत्र बढ्दै गएको अवस्थामा हरित प्रदेश अभियान सञ्चालन गरिएको हो । हरित प्रदेश अभियानअन्तर्गत आठै जिल्लामा एक हेक्टरभन्दा अधिक क्षेत्रमा एकै पटक वृक्षरोपण थालिएको छ । अभियानअन्तर्गत ५० हजार बिरुवा रोपण तथा सिँचाइको व्यवस्थापन र काँडेतार लगाइने भएको छ । 

प्रतिकृया दिनुहोस