News Category 2075/07/18

राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह

दैनिक समाचारदाता

राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह

    राजविराज÷प्रदेश नम्वर २ का भूमी, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मूलुकको राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 
    पहिलो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीको ९ औं अधिवेशनको शनिबार सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । 
    अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री साहले भने, “दातृ निकायले गरेको अर्बौको लगानी अनुरुप प्रतिफल आउन सकेन् तर, राजनैतिक परिवर्तनमा भने गैससहरु कै महत्वपूर्ण योगदन रहेको छ ।”
    गैससहरुको विषयगत पक्षमा दक्षता कमजोर रहेको भन्दै मन्त्री साहले उनीहरुको प्रतिफल सन्तोषजन नरहेको गुनासो व्यक्त गरे । 
    सप्तरी जिल्लामा दुई दशकदेखी गैससले कार्य क्षेत्रलाई बिस्तार गरेको भन्दै मन्त्री साहले आउने दिनमा प्रदेश सरकारले गैससहरुसँग समन्वय गरि मैत्रीपूर्ण गैसस ऐन ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।  
    एक अर्को प्रसङ्गमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक विभाग सदस्य समेत रहेका मन्त्री साहले मुलुक संघीय संरचना गइसकेको अवस्थामा समेत संघीय सरकारले अझै सो संरचना स्विकार गर्न नसकेको आरोप लगाए । उनले प्रदेश सरकारले निर्माण गरेको ऐनप्रति संघीय सरकार बाधक भइरहेको उल्लेख गरे । 
    हालै मात्र प्रदेश नं. २ को सरकारले प्रहरी ऐन बहुमतले पारित गर्दा समेत संघीय सरकार सो ऐन संघीय सरकारसँग टक्कर लिन बनाइएको भन्दै बिरोध गरिरहेको अवस्थामा प्रहरी ऐन प्रदेशका जनताको चाहना अनुरुप ल्याइएको दाबी गरे । उनले भने, “प्रदेशमा स्थानिय सुशासन कायम गर्नका लागि प्रहरी एने ल्याइएको हो, यो ऐन लागु भए मात्र स्थानिय स्तरमा सुशासन कायम हुन्छ ।”
    यस्तै सो अधिवेशनको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले गैससहरुले गरेको क्रियाकलापहरु सकारात्मक भएको भन्दै यसले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेको धारणा व्यक्त गरे । 
    उद्घाटन सत्रमा संघीय संसदका सदस्य चन्द्रकान्त चौधरी,  प्रदेश नं. २ का प्रदेशसभा सदस्य गिता यादव, नेत्रविक्रम साह समेतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  
    गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा  स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलहका अधयक्ष एवं प्रतिनिधि, गैससका प्रादेशिक प्रतिनिधी, सम्वन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा, दलित तथा जनजातिका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य संघ, राजनीतिकर्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    यसअघि नागरिक सम्मेलनको पहिलो दिन शनिबार महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्रध्यापक सुरेन्द्रप्रसाद गुप्ताले ‘सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सप्तरीमा गैरसरकारी संस्थाको अवस्था, तिनीहरुको सबल र दुर्वल पक्ष, गैससका कार्यगत र प्रवृत्तिगत चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका विषय समावेश गरिएको छ । 
    सप्तरीका अधिकांश गैरसरकारी संस्थामा संस्थागत र नेतृत्वदायी क्षमताको अभाव, दातामुखी, साझा मुद्दामा संस्था–संस्थाबीच समन्वय र साझेदारीको अभाव, मानवीय श्रोत ब्यवस्थापनको अभाव, स्थानीय श्रोत र साधनको पहिचान र परिचालनको अभाव, सीमित ब्यक्तिको हालिमुहाली, दिगोपनालाई ख्याल नगरी परियोजना सक्ने हतारो, अनुगमन र मूल्यांकनलाई बेवास्ता लगायतको समस्या देखिएको कार्यपत्रमा उल्लेख छ । 
    यसैगरी, विषयगत विशेषज्ञताको अभाव तथा बहुदेश्यीय हुनु, दलगत राजनितिलाई सहयोग पुर्याउनु र जनतासँग भन्दा पनि जनताका लागि काम गरेको अहमता गैरसरकारी संस्थाहरुमा देखिएको समस्याका रुपमा कार्यपत्रले औंल्याएको छ ।
    उद्घाटन सत्रमा गंससलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने र स्थानिय निकायमा निर्वाचित भएका गैससका सदस्यहरुलाई सम्मानपत्र, कदरपत्र र गम्छा ओढाई सम्मान समेत गपिरएको थियो ।     अधिवेशनको दोश्रो दिन बन्दसत्र पश्चात् नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अपनाउने निर्वाचन अधिकृत सतिश दत्तले जानकारी दिएका छन् । 
 

प्रतिकृया दिनुहोस