News Category 2075/08/07

एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार

दैनिक समाचारदाता

एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
    सन् २०१८ को ११ महिने अवधीमा सप्तरीमा ३२ बालिका तथा ११ महिलामाथी बलात्कारका घटना भएका छन् । 
    इन्सेक सप्तरीद्वारा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वअघि शुक्रबार राजविराजमा आयोजित बार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । 
    आयोजित गोष्ठीमा इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा हत्या भएका ६ जनाको लाश फेला नपरेको, १३ बालिका यौन दुव्र्यवहारमा परेको, चार महिलामाथी यौन दुव्र्यवहार भएको जनाइएको छ । 
    त्यस्तै २० वटा बहुविवाह, तीन बालविवाह, दुई गर्भपतन, पाँच जनामाथी कथित बोक्सी आरोप, अस्पताल तोडफोडको दुई घटना, दुई शिक्षकमाथि दुव्र्यवहार, दुई बालिकाको अपहरणका घटनाहरु सार्वजनिक गरिएको छ भने बालक कुटपिट, बालिका घरनिकाला, बिद्यालय तोडफोड, धम्की र यातनाका एक÷एक घटना प्रतिवेदनमा उल्लेख गरिएको छ । 
    प्रतिवेदनमा उक्त अवधीमा महिला र बालबालिका हिंसाका घटना बढी भएको र सोही अवधिमा एक सय ३४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन रहेको जनाइएको छ । 
    त्यस्तै बढी चर्चामा रहेका घटनामा एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुनामा रहेको प्रतिवेदनमा जनाइएको छ । बालिका बलात्कार आरोपित सहोदर काका भने फरार रहेको जनाइएको छ । 
    यसैगरि एकल एक महिलाको बलात्कार पछि हत्या भएको आरोपमा चार जना गिरफ्तार भएका छन् भने एक महिला हत्या आरोपमा पति र ससुरा गिरफ्तार भएको उल्लेख छ । एक गर्भवती महिलाको हत्या आरोपमा परिवारका पाँच जना थुनामा र सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र पतिको लाश फेला नपरेको जनाइएको छ । 
    आफ्नै परिवारका सदस्यद्वारा दुई पुरुषको हत्या भएको घटनामा तीन जना थुनामा तथा वाइसिएल वडा सहसंयोजकको हत्या घटनामा एक जना थुनामा र एक जनालाई संरक्षकको जिम्मा लगाइएको छ भने अन्य १३ जना फरार रहेको उल्लेख छ । वडा अध्यक्षले एक जनालाई धम्की दिएको र प्रहरीले यातना दिएको एक घटना सार्वजनिक भएका छन् । 
    सो प्रतिवेदनमा घरेलु हिंसाका संकलित २७ वटा नमूना घटनामध्ये नौ घटनामा सहमति, सहमति हुन नसकी एउटा अदालतमा चालु र अदालत पठाइएको एउटामा मिलापत्र भएको उल्लेख छ । 
    जिल्ला बार इकाई सप्तरीका अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा वक्ताहरुले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
    कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निमित्त निर्देशक बिरबहादुर मगर, इन्सेक प्रदेश संयोजक राजु पासवान, नेकपाका नेता अब्दुल मजिद साकिर, संघीय समाजवादी फोरमका जिल्ला सचिव केदार यादव, अस्पतालका प्रमुख मे.सु. डा. चुमनलाल दास, स्रेस्तेदार दिलकुमार वर्देवा, एसपी राजेन्द्र विष्ट, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरन्जनप्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला सह न्याधिवक्ता उत्तम श्रेष्ठ, जिल्ला कानुनी सहायता अधिकृत रामप्रसाद गौतम, ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडा, सगरमाथा कल्याण संघका अध्यक्ष बलदेव मण्डल, निलहिरा समाजका रामप्रसाद चौधरीलगायत अधिवक्ता, सञ्चारकर्मी, अधिकारकर्मीहरुले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस