News Category 2070/10/04

तीन महिलासहित ६ को हत्या ः प्रतिवेदन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ माघ । 
सन २०१३ मा सप्तरीमा तीन महिलासहित ६ जनाको हत्या भएको एक तथ्याङकले देखाएको छ । 
इन्सेक सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको नेपाल मानवअधिकार बर्ष पुस्तक २०१३ को बार्षिक समिक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले सार्वजनिक गरेको प्रतिबेदनमा एक बर्षको अबधिमा सप्तरीमा एक पूर्व जनप्रतिनिधीसहित तीन महिला र तीन जना बालबालिकाको हत्या भएको देखाएको छ ।   
प्रस्तुत प्रतिवेदनमा कल्याणपुर गाविस २ का ५५ वर्षीय पूर्व सभासद सदरुल मियाँ हकलाई निजकै पत्नी र माहिली छोरीको योजनामा जेठ ६ गते राति हत्या भएको उल्लेख छ । प्रहरीले हकका पत्नी नुरजहाँलाई र छोरी १९ वर्षीया रुबेदा खातुनलाई तथा अब्दुल रउफलाई गिरफ्तार गरिएको जनाइएको छ । हत्याका मुख्य योजनाकार र रुवेदाका प्रेमी जमिरुल शेख र एनुल शेख भने फरार रहेको जनाउँदै प्रतिवेदनमा अदालतले असार २३ गते नुरजहाँ, रुबेदा र रउफलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उल्लेख छ । 
यसैगरि रामनगर गाविस २ की उर्मिलादेवी यादवलाई जेठ २६ गते पति जोगेन्द्र भन्ने योगेन्द्र यादवले राती घाँटी थिचेर हत्या गरी फरार भएको प्रतिवेदनमा उल्लेख छ । योगेन्द्र र भाइबुहारी २७ वर्षीया लक्ष्मीदेबीविरुद्ध प्रहरीमा उजुरी दिएको तथा आरोपित योगेन्द्रलाई प्रहरीले असार १८ गते गिरफ्तार गरेको जनाउँदै प्रतिवेदनमा आरोपित योगेन्द्र साउन १४ गतेदेखि पुर्पक्षको लागि कारागारमा थुनामा रहेको उल्लेख छ ।
यस्तै बोदे बर्साइन गाविस ६ जाँजर टोलकी २७ वर्षीया हौवा खातुनलाई ०७० साउन ३० गते पति मुर्तुजा भन्ने दरगुद मोहम्मद मियाँले घाँटीमा सलले बाँधेर घरमा हत्या गरेको उल्लेख छ । मृतकका बुवा फरमुद मियाँलेसाउन ३१ गते कर्तब्य ज्यान मुद्दामा उजुरीका आधारमा प्रहरीले भदौ २ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रहरीले साउन ३० गते पीडितका ससुरा ६० वर्षीया गफुर मियाँलाई गिरफ्तार गरेको प्रतिवेदनमा उल्लेख छ । हत्या आरोपमा फरार रहेका पति, सासु ५८ वर्षीया सबिरन खातुन र नन्द १८ वर्षीया ऐसा खातुनलाई अदालतले वारेण्ट पुर्जी काटेको प्रतिवेदनमा जनाइएको छ । 
यस्तै देउरी गाविस ३ का तीन वर्षीय नरेशकुमार साहलाई ०७० वैशाख १ गते उनका बुबा २७ वर्षीय रामलाल साहले विषादी सेवन गराएकोमा वैशाख २ गते मृत्यु भएको जनाइएको छ । त्यसैगरि बथनाहा गाविस ७ की १५ वर्षीया रुबी राउतलाई ०७० जेठ ७ गते उनका बाबु ४० वर्षीय चन्द्र राउतले तल्लो जातको केटासँग भागेको आरोपमा भाँडाका मानिस लगाएर हत्या गरको उल्लेख छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १२ की १७ वर्षीया सानु राउतलाई ०७० मंसिर २९ गते मोहनपुर गाविस–६ कठौना बजार पु¥याई प्रेमी उदयपुरको त्रियुगा नगरपालिका १४ का १८ वर्षीय सुमन विश्वकर्माले विष खुवाई हत्या गरेको जनाइएको छ । 
त्यस्तै सप्तरीमा सन् २०१३ मा भएको १४ वटा बलात्कारको घट्नामा ७ बालिका र ८ महिला पीडित भएको र सो अबधीमा भएको ४९ वटा घरेलु हिंसाका घटनामध्ये १२ वटा घटनामा महिला घरबाट निकालिएको प्रतिबेदनमा जनाएको छ । 
प्रतिवेदनमा बलात्कार प्रयासका घटनामा ९ वर्षीया बालिकादेखि ४५ वर्षीया महिला पीडित रहेको उल्लेख छ । ती घटनामा १९ जना आरोपितहरुमा २० बर्षदेखि ५९ वर्षसम्मका रहेको जनाइएको छ । प्रहरी कार्यालयले ९ ओटा मुद्दा दर्ता गरी जिल्ला अदालतमा दर्ता गराएको छ भने एउटामा पुनरावेदन अदालतले मुद्दा दर्ता गरी कानुनी प्रकृया अगाडि बढाउन परमादेश गरेपछि अदालतमा दर्ता भएको छ । चार वटा घटनामा भएको सहमतिमा ५ जनाले कारवाहीबाट उन्मुक्ति पाएका छन् भने बाँकी १४ जनामा ६ आरोपी पुपक्र्षका लागि थुनामा छन्, ६ जना फरार छन् भने २ जना क्रमशः २२ हजार ५ सय र २३ हजार रुपैयाँ धरौटी तिरी तारेखमा रिहा भएको प्रतिवेदनमा उल्लेख छ । 
बढ्दो दण्डहिनता, बिधीको शसन कायम नहुनु र सरकारी तथा गैरसरकारी पक्षको पहलकदमी प्रभावकारी नहुदाँ मानवअधिकार हननको घटनाहरु पुर्वाञ्चलको १६ जिल्ला मध्ये सप्तरीमा भारी मात्रामा हुने गरेको पुष्टी भएको प्रतिबेदनमा जनाएको छ ।
महिला हिंसा बिरुद्धको संजालका सल्लाहकार मञ्जु श्रेष्ठको अध्यक्षतामा आयोजित समिक्षा गोष्ठी कार्यक्रममा प्रमुख अतिथि पुनराबेदन अदालत राजविराजका निमित मुख्य न्यायाधिश बलराम बिष्टले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको कर्तव्य भएको बताउनुभयो । 
कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजालका संस्थापक अध्यक्ष सुखराम यादव, पुर्व प्रअहरु बिजयानन्द झा, हासिम अन्सारी, सञ्चारकर्मीहरु राजेश झा, राजु विश्वकर्मा, अम्बिका दाहाल, सगरमाथा आपाङग कल्याण् संघका अध्यक्ष बलदेव मण्डल लगायतले मानवअधिकारबारे बोल्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट