News Category 2075/11/24

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”

दैनिक समाचारदाता

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”

दैनिक समाचारदाता
काठमाडौं, २४ फागुन । 
    सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमती भएको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहालको बिशेष उपस्थितिमा सो ११ बुँदे सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक डा. सिके राउतको हस्ताक्षर भएको हो ।
    सहमतिको पहिलो बुँदामा गठबन्धनले मुलुकको अखण्डता स्वीकार गरेको छ भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने उल्लेख छ ।
    सरकारसँगको सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले आफूहरूको समस्या शान्तिपूर्ण अवतरण भएकोमा खुशी भएको बताए ।
    सहमतिपछि सोही समारोहमा बोल्दै राउतले विकराल रूपमा बढ्दै गएको समस्या शान्तिपूर्ण अवतरण भएको निकै खुशी रहेको बताए ।
    आफूहरूले उठाएको मुद्दाप्रति सरकार निकै चिन्तित बनेको र आफूहरू पनि निकै रहेको भन्दै उनले आज शान्तिपूर्ण रुपमा आफूहरूको समस्या अवतरण हुँदा आजको दिन निकै ऐतिहासिक रहेको समेत राउतले जिकिर गरे ।
    ‘विकराल समस्याको रूपमा जुन मुद्दा उठिरहेको थियो । त्यस विषयमा राज्य पनि निकै चिन्तित थियो र त्यस मुद्दाले कस्तो मोड लेला भनेर हामी पनि निकै चिन्तित थियौं,’ उनले भने, ‘त्यसले भयानक रूप लेला भनेर हामी पनि चिन्तति थियौं । त्यसको शान्तिपूर्ण रूपमा अवतरण भयो ।’
    त्यस्तै उनले आफूहरू बुद्धका सन्तान भएकाले आफूहरूलाई अंहिसा सिकाउनु नपर्ने बताए ।
    त्यस्तै प्रधामनन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश अभियानका संयोजक डा. सीके राउतमा असाधारण निर्णय लिने क्षमता देखेको बताएका छन् । राउतले सही राजनीतिक बाटो लिएको भन्दै उनले प्रशंसा गरे । 
    ‘सीके राउतमा असाधारण निर्णय क्षतमा देखेँ, त्यस्तो निर्णय क्षमता प्रचण्डमा थियो,’ सीके राउत नेतृत्वको स्वतन्त्र मधेश अभियानसँग सहमति घोषणा गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले भने, ‘उहाँ (प्रचण्ड)ले हतियार उठाउने ठाउँबाट शान्ति वार्ता, संसदमा सहभागिता, सरकारमा सहभागिता, संविधान बनाउने कुराको अगुवा, त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रको एकता गर्ने कुरामा निर्णय लिनुभयो । सानो मुटुकोले सानो हिम्मतले सक्दैन ।’ ओलीले प्रशंशा गर्दा मञ्चमा रहेका प्रचण्ड मुस्कुराएका थिए । 
    ‘अहिले सीके राउत जीमा पनि त्यो छाँटकाँट देखेँ । यो साधारण निर्णय होइन । असाधारण निर्णय गर्नुभएको छ । राउतजी टेक्नोक्रयाट मात्र होइन थिंकर पनि हो,’ ओलीले भने ।
    त्यसअघि समारोहलाई सम्बोधन गर्दै राउतले आफूहरूको राजनीतिक आन्दोलनले सुरक्षित र शान्तिपूर्ण रूपमा अवतरण भएको भन्दै यसलाई सकारात्मक रूपमा ग्रहण गर्न आग्रह गरेका थिए ।

के छ सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिमा 
१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।
२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।
३) लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् । तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ । त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं ।
४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो । हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइ मधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं । त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं ।
५) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ । कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ ।
६) स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन ।
७) स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन । र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन ।
८) २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ ।
९) स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ ।
१०) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं ।
११) यो सहमति आजैका मितिबाट लागु हुनेछ ।
नेपाल सरकारका प्रतिनिधि 
रामबहादुर थापा, गृहमन्त्री
स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट 
चन्द्रकान्त (सिके) राउत, संयोजक

प्रतिकृया दिनुहोस