News Category 2075/12/13

६ परीक्षार्थी, पाँच निरीक्षक र चार नक्कली कार्यालय सहयोगि पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
    एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा बुधबार अनिवार्य गणित परीक्षामा ६ परीक्षार्थी, पाँच निरीक्षक तथा चार नक्कली कार्यालय सहयोगि पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरु परीक्षार्थीहरुमा महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु रामले चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए ।  
    यस्तै जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरूको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको च्याट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ । कमलेश्वरी किशुन झालाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि पक्राउ परेका छन् । 
    यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ । 
    त्यस्तै चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका ४ का देवनारायण मण्डल, खडक ९ का मनोजकुमार चौधरी र खडक १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका ४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा ८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ । 
    त्यस्तै बनरझुला केन्द्रवाट चार जना नक्कली कार्यालय सहयोगी रामनन्द चौधरी, रामसुन्दर चौधरी, लगेन्द्र प्रसाद चौधरी र देब नारायण मण्डल पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस