News Category 2075/12/15

परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा

दैनिक समाचारदाता

परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
    माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत प्रदेश २ को शुक्रवार हुने भनिएको अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगन गरिएको विरोधमा विद्यार्थीले प्रदर्शन गर्दै करिब एक घण्टा जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमै धर्ना दिएका छन् । 
    शुक्रवार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र विहीवार साँझ देखिनै इन्टरनेट, इमेल, इमो लगायतका सामाजिक संजाल मार्फत आउट भएपछि सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित गरिएको छ । 


    यसअघि पनि प्रदेश २ मा बिहीबार विज्ञान विषयको परिक्षा हुनु अगावै प्रश्नपत्र बाहिरिएपछि परिक्षा रद्द गरिएको थियो । यद्दपी विज्ञान विषयको परिक्षा सम्पन्न पश्चात् परिक्षा रद्द गरिएको थियो । सो परिक्षा चैत २३ गते पुनः परीक्षा लिने निर्णय गरेको थियो ।
    यसरी दुई दिन लगातार परीक्षा रद्द र स्थगन भएपछि विद्यार्थीहरुसँगै उनका अभिभावकहरु पनि मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करोडौंको व्ययभार थपिएको छ । 
    यता प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले परीक्षा संचालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी मात्र पाएको भन्दै केन्द्रले पठाउने प्रश्नपत्र प्रहरी सुरक्षा घेरामा रहने र त्यस्तो अवस्थामा पनि कसरी लिक भयो ? भन्ने विषय शंकाको घेरामा परेको बताए । उनले प्रदेश सरकारले परीक्षा मर्यादित र व्यवस्थित बनाई सभ्य तरिकाले परीक्षा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको दावी गर्दै प्रश्नपत्र आउट गर्ने षडयन्त्रकारी बारे समिति मार्फत सुक्ष्म छानविन थालिएको बताए ।
    संघीय समाजवादी फोरम नेपाल प्रदेश २ का मुख्य सचिव शम्भु झाले बारम्बार प्रश्नपत्र आउट हुनुमा प्रदेश २ सरकारलाई बदनाम गर्न संघीय सरकारबाट नै ठुलो षडयन्त्र भएको आरोप लगाएका छन् । 
    उनले भने–केन्द्रबाट नै प्रश्नपत्र प्रदेशमा आउने हो र प्रहरीको कडा सुरक्षा घेरामा राखिने प्रश्नपत्र यसरी लिक हुनुको जिम्मेवारी कसले लिने ? उनले प्रश्नपत्र प्रदेशले नभई संघीय सरकारले छपाउने र सम्बन्धित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पठाउने गरेको भन्दै यसरी प्रश्नपत्र लिक हुनुको जिम्मेवारी संघीय सरकारले नै लिनुपर्ने बताए । उनले यस विषयमा उच्च स्तरीय छानविन हुनु पर्ने माग समेत गरेका छन् ।
    विज्ञान र सामाजिक विषयको परिक्षा रद्द र स्थगित भएपछि प्रदेश २ मा परिक्षा दिइरहेका ७० हजार ५ सय ६८ विद्यार्थीहरु निराश भएका छन् ।  
    यसैबीच प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा पनि विद्यार्थीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् भने प्रदेशको औद्योगिक नगर बिरगन्जमा समेत विद्यार्थीहरुले उग्र प्रदर्शन गरेका छन् । यस्तै सिरहामा पनि विद्यार्थीहरुले बिरोध गरेका छन् । 
 

प्रतिकृया दिनुहोस