News Category 2075/12/18

हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते

दैनिक समाचारदाता

हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
    मुलुकककै इतिहासमै ठूलो विपत आइतबार साँझ असिनासँगै आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति भएको छ । सो हावाहुरीबाट २७ जनाको ज्यान गएको छ भने ४ सय बढी घाइते भएका छन् । 
    आइतबार साँझ बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट १२ जना पुरुष, १० जना महिला तथा ५ जना बालबालिकाको ज्यान गएको हो । यता घाइते भएकाहरुको कलैया, वीरगञ्जलगायतका अस्पतालमा तथा गम्भिर घाइते भएका ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 


    बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट आइतबारराती सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।


    यता सो घटनाबाट सबै भन्दा बढी फेटा गाउँपालिकाका एकै परिवारका चार जनासहित १९ जनाको मृत्यु भएको छ । 
प्रदेश सरकारद्वारा ३ लाख दिने निर्णय
    यसैबीच सोमबार बिहान प्रदेश नं २ को मन्त्रिपरिषद्को सम्पन्न आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै प्रत्येक मृतक परिवारलाई रु. ३ लाखका दरले राहत दिने निर्णय गरेको छ । 


    प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय समेत गरेको छ । 
    बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने तथा उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए । 


    त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए । 
संघीय सरकारद्वारा ४ सय ६८ वटा त्रिपाल प्रदान
    आइतबार साँझ असिनासँगै आएको हावाहुरीबाट बारा र पर्सा जिल्लाका प्रभावित क्षेत्रमा संघीय सरकारले ४ सय ६८ वटा त्रिपाल पठाएको छ । 
    गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४ सय ६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।
    यस्तै संघीय सरकारले त्रिपालसँगै ४ हजार १ सय ६८ थान कपडा समेत पठाइएको जनाएको छ । ५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । 
नेउवा महासंघद्वारा ५० लाख सहयोग घोषणा
    नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

    महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । 
    बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको छ । 
    प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गर्ने महासंघको तयारी छ ।
राजपाद्वारा ५ लाख सहयोग घोषणा
    राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
    राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको सोमबार विज्ञप्ति जारी गरी घोषणा गरेका हुन् ।


    राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
    प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।
    राजपाले दुखको घडीमा सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघ संस्था र देश विदेशमा रहेका नागरिकलाई आग्रह गरेका छन् ।
काँग्रेसका सांसदद्वारा दुई दिनको तलब सहयोग
    बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई (२) दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।
    काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् ।
नेकपाका सांसदद्वारा एक दिनको तलब सहयोग 
    यता नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेको छ ।
काँग्रेस प्रदेश २ ले पीडितलाई १० लाख दिने घोषणा
    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश २ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । 
    काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 
    हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिने भन्दै उनले यस विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु आव्हान समेत गरे । 

प्रतिकृया दिनुहोस