News Category 2076/01/13

भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 

दैनिक समाचारदाता

भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
    राजविराज नगरपालिकाको मेयर पदमा १५ भोटले पराजित भीमराज यादव पार्टीको जिल्लाकार्य समिति निर्वाचनमा पनि १५ भोटले नै पराजित हुन पुगेका छन् । भीमराजको राजनैतिक यात्राका क्रममा यो अंक दोश्रो पटक दोहोरिएको हो ।
    संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शुक्रबार बिहान घोषित परिणाम अनुसार अध्यक्ष पदका प्रत्याशी भीमराज केदार प्रसाद यादवसँग १५ भोट अन्तरले पराजित हुन पुगेका हुन् ।
    अध्यक्ष पदमा निर्वाचित केदार यादवले ३४ मत प्राप्त गरेका छन् भने निकटत्म प्रतिद्वन्द्वी भीमराज यादवले १९ मत प्राप्त गरे । अन्तिमक्षण सम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरिएको तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले बताए । 
    भीमराज यसअघि गत स्थानिय निर्वाचनमा पनि राजपाका शम्भु प्रसाद यादवसँग १५ भोटकै अन्तरले पराजित भएका थिए । फोरमका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजविराज ९ भीमराजले त्यतिबेला ४ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए । मेयर पदमा निर्वाचित राजपाका शम्भु प्रसाद यादवले ४ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । 
    प्रतिस्पर्धीसँग पटक पटक १५ मतको अन्तरले पराजित हुने गरेका भीमराज भन्छन्, “जनता र पार्टीका मित्रहरुले त सहयोग गरेकै हुन् । तर, भाग्यले साथ दिएको छैन् ।” उनले पटक पटक १५ मतको झिनो अन्तरले पराजित हुनु “ग्रहदशा” को दोष भएको भन्दै उक्त नतिजाबाट मतदाता पनि दुःखी हुने गरेको सुनाए । 
    “राजनीतिमा हार–जित स्वभाविक हो । तर, १५ मतकै चक्करले आफू पीडित हुने गरेको बताउँदै उनले भने, “अब भावी दिनमा हुने निर्वाचनमा शुभसाइत हेराएर अघि बढ्नु पर्ला ।”

प्रतिकृया दिनुहोस